ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु – Nepal Press

ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु

काठमाडौं । गत वर्षको चैतमा फेसबुक चलाउँदाचलाँउदै रुमा चौधरीका आँखा एउटा विज्ञापनमा परे । विज्ञापन ट्रेकिङ गाइडको तालिमबारे थियो । महिला ट्रेकिङ गाइडको तालिम भएकाले उनमा हौसला आयो ।

उनले कैलालीको चिसापानी क्षेत्रस्थित कटासे बजारको सनफ्लावर होटलमा तालिम हुने जानकारी पाइन् । तालिमा खानेबस्ने सबै व्यवस्था हुने बुझेपछि उनलाई थप सजिलो भयो । तत्काल जान मानसिक रुपमा तयार भइन् ।

रुमाले एक महिने ट्रेकिङ गाइड तालिम लिइन् । कैलालीको भजनी नगरपालिका- ६ बसाहाकी रुमा तालिमकी एक्ली गाउँले सहभागी थिइन् । काठमाडौंको थापा गाउँमा प्रशासनिक कार्यालय रहेको नेपाल माउन्टेन एकेडेमीबाट एक महिना तालिम लिएपछि दिएको परीक्षामा रुमा पास भइन् ।

रुमालाई आफू यो तालिम लिएको पहिलो थारु महिला लागेको छ । चलचित्र निर्देशक भोजराज भाट पनि रुमा टे«किङ गाइड लाइसेन्स लिने पहिलो थारु महिला हुनसक्ने बताउँछन् ।

गत बिहीबार काठमाडौंमा आएर सरकारबाट लाइसेन्स लिएपछि रुमा घर फर्किसकेकी छन् । यो सबैको लागि उनले १० हजार खर्च भएको बताइन् । ‘तालिम र लाइसेन्समा त केही खर्च भएन’, रुमा भन्छिन्, ‘काठमाडौं आउजाउमा १० हजार जति सकियो ।’

ग्रामीण विकासमा स्नातकोत्तर गरेकी रुमालाई गाउँको बारेमा जानकारी छ । गाउँका सुखदुःखका बारेमा जानकारी छ । आदिवासी थारु समुदायका भएकीले उनलाई आफ्नो समुदायको खास जानकारी छ । उनी यो सबै दक्षता पर्यटन क्षेत्रमा लगाउन चाहन्छिन् । आफ्नो क्षेत्रमा पर्यटन क्षेत्रको गाइड हुन चाहन्छिन् ।

आफ्नो क्षेत्रबारे जानकार उनमा तालिम अनि लाइसेन्स पाएपछि आत्मबल झनै बढेको छ । रुमालाई धाविका र ट्रेकिङ गाइड दुवैको रुपमा नजिकबाट बुझेका चलचित्र निर्देशक भाटले सामाजिक सञ्जालमा एक पोस्ट गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा आउँदा रुमालाई गाइडको रुपमा सहयोग माग्न आग्रह गरेका छन् ।

रुमालाई भने तराईमा मात्रै होइन, पहाड अनि हिमालमा पनि गाइड गर्न मन छ । उनले हिमाल देखेकी छन् । तर, हिमाली क्षेत्रमा पुगेकी छैनन् । उनले पहाड घुम्ने मौका पाएकी छन् । रुमा बझाङमा छात्रवृत्तिमा भेटेनरी अध्ययन गरिरहेकी बहिनी प्रमिला चौधरीसम्म पुगेकी छन् ।

‘पहाड धेरै गएको छैन, काठमाडौंदेखि बझाङसम्म मात्रै हो’, रुमा भन्छिन्, ‘अब हिमाली क्षेत्र जाने रहर छ ।’

२८ वर्षीया रुमाको परिवारमा आमासहित तीन बहिनी छन् । उनी ११ वर्ष हुँदै बुबा बितेपछि उनी घरको आमापछिको दोस्रो नेतृत्वमा छिन् । रुमालाई सुदूरपश्चिमको पर्यटन क्षेत्रमा केही राम्रा कामको नेतृत्व गर्ने मन छ । घोडाघोडी तालदेखि कैलालीका प्रमुख गन्तव्यहरुमा उनले घुमेको अनुभव लिएकी छन् । अब थुप्रै गन्तव्यहरुमा घुम्ने र घुमाउने उनको रहर छ ।

कुनै जागिर नगरेर अध्ययनमै व्यस्त उनले पढाइ र पर्यटनलाई प्राथमिकता दिने बताइन् । उनलाई आफूले पाएको ट्रेकिङ गाइड लाइसेन्सको सदुपयोग गरेर नेपालका हिमाली क्षेत्रहरुमा घुम्ने र घुमाउने मन छ । अनि कमाउने र रमाउने मन छ ।

‘मैले हिमाल धेरैपटक हेरेको छैन । बच्चामा शैक्षिक भ्रमण हुँदा पोखरा पुग्दा माछापुच्छ्रे र अन्नपूर्ण हेरेको हो । त्यसपछि हेरेको याद छैन’, रुमा आफ्नो हिमाली प्रेमबारेमा भन्छिन्, ‘सहयोग भएमा हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *