सन्दीपमाथि अदालतको सजग निर्णय, आइतबार आदेश आए यूएईमा खेल्न भ्याउने – Nepal Press

सन्दीपमाथि अदालतको सजग निर्णय, आइतबार आदेश आए यूएईमा खेल्न भ्याउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्दै हिजो दिएको निवेदनमा सर्वोच्च अदालतले आज कुनै निर्णय लिएन । यसले गर्दा सन्दीप भोलि नेपालको राष्ट्रिय टीमसँग यूएई जान नपाउने भएका छन् । तर, उनले यूएईमा खेल्न पाउने ढोका बन्द भइसकेको भने छैन ।

अदालतले सन्दीपको निवेदनमा सजगतापूर्ण लिएको देखिन्छ । उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्न गरेको फैसलामाथि सरकारी पक्षले पहिल्यै पुनरावेदन गरिसकेको छ । सर्वोच्चको संयुक्त इजलासमा उक्त पुनरावेदन विचाराधीन रहेको अवस्थामा त्यसलाई थाँती राखी सन्दीपको निवेदन मागअनुसार एकल इजलासले कुनै आदेश जारी गर्नु मनासिब नहुने तर्क गरिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको यो तर्क जायज नै हो । उही एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदनउपर एकैसाथ सुनुवाइ हुनु आवश्यक देखिने उनले आज दिएको आदेशमा उल्लेख छ ।

आजको आदेशको अर्को महत्वपूर्ण पाटो चाहिं न्यायाधीशले यूएईको क्रिकेट श्रृंखलामा सन्दीपको उपस्थितिको महत्वलाई स्वीकारेका छन् ।

आदेशमा भनिएको छ, ‘आगामी हप्तामा नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदनउपरको सुनुवाइमा ढिलाइ हुन गएमा निवदनको मूल प्रयोजन नै समाप्त जानेसमेत देखियो ।’

यसरी प्रस्तुत विषयमा तत्काल सुनुवाइ गर्नु आवश्यक देखिएकोले सन्दीपको निवेदन र वादी नेपाल सरकारको निवेदनलाई लगाउमा राखेर अग्राधिकारसमेत प्रदान गरी फागुन १४ गतेको इजलासमा पेश गर्न भनिएको छ । यसको अर्थ १४ गते सन्दीपको निवेदन र सरकारको पुनरावेदन दुवै एकै इजलासमा पेशी चढ्नेछन् र त्यही दिन आदेश आउन सक्छ ।

नेपालले दुबईमा यूएई र पपुवा न्यूगिनीसँग ४ म्याचको श्रृंखला खेल्दैछ । नेपालको पहिलो म्याच २७ फेब्रुअरी (सोमबार) यूएईसँग छ । दोस्रो म्याच भने २ मार्चमा यूएईसँग रहेको छ ।

यदि आइतबार अदालतले सन्दीपको विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्ने आदेश दिएको खण्डमा उनी यूएई भ्रमणमा सामेल हुन सक्नेछन् । अदालतको आदेश आए कुनै पनि ढिलाइ नगरिकन उनलाई यूएई पठाउने तयारी नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ । आइतबार आदेश आएर सबै प्रक्रिया पूरा गरी सोमबारको म्याच खेल्न कठिन देखिन्छ । तर, त्यसपछिका तीन खेलमा उनी जोडिन सक्नेछन् । क्यानले एउटै म्याचमात्र भ्याउने अवस्था भए पनि उनलाई पठाउने बताइरहेको छ ।

आजको सुनुवाइमा क्यानका म्यानेजर विनोद दासले सन्दीपको सबै जिम्मेवारी लिएर युएई लैजान आफूहरु तयार रहेको बताएका थिए ।

स्मरणीय के पनि छ भने सन्दीपलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालतको फैसला खारेज गरी उनलाई थुनामै राखेर मुद्दा चलाउन माग गर्दै सरकारी पक्षले गरेको मागमा पनि त्यही दिन बहस हुनेछ । यदि उक्त मागबमोजिम सर्वोच्चले उच्चको फैसला उल्टाएर उनलाई थुनामा राख्ने आदेश दिएमा सन्दीप तत्काल पक्राउ पर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर