भारतीय सचिवसँग सत्तारुढ दलका सबै नेताहरुले भेट्नु आत्मसमर्पण हो : प्रेम सुवाल – Nepal Press

भारतीय सचिवसँग सत्तारुढ दलका सबै नेताहरुले भेट्नु आत्मसमर्पण हो : प्रेम सुवाल

सुर्खेत । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राष्ट्रपति निर्वाचनको मुखमा भारतको विदेश सचिवसँग नेपालका सबै शासक पार्टीका नेताहरुले भेटघाट गर्नु आत्मसमर्पण नै भएको बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा बोल्दै सचिव सुवालले नेपालका शासक दलहरु देशभक्त नहुदा राष्ट्रपतिको निर्वाचनमा भारतको हस्तक्षेप बढेको उल्लेख गरेका छन् ।

भारतले तालिम र हतियार दिएर नेपालमा माओवादीलाई सशस्त्र गतिविधि सञ्चालन गराएको बारे धेरै खुलिसकेको भन्दै सचिव सुवालले सरकारले दिएको जनयुद्ध दिवसको औचित्य नभएको भनाइ राखेका छन् ।

नेमकिपाले माओवादीलाई कम्युनिष्ट नभएर अराजकतावादी भएको उतिबेला उल्लेख गरेको भन्दै पूँजीवादी गणतन्त्रले कामदार जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी नदिने भनाइ राखे । संविधानमा देश र जनताका विषवस्तु समावेश नभएको उनको विचार थियो ।

सम्पत्ति सुद्धीकरणको नाममा स्वयंकर घोषणा गरेर छुट दिनु गलत भएको भन्दै स्रोत नखुलेको सम्पत्ति राष्टिकरण गर्नुपर्ने तर्क गरे ।

उनले भने, ‘सरकारको नीतिले सरकार पुँजीपति वर्गले सञ्चालन गरेको पुष्टि हुन्छ । सम्पत्तिमा सीमा राख्नुपर्ने भन्दै उनले विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोवस्त राख्नु आवश्यक भएको विचार व्यक्त गरे ।’

संसद्मा नेमकिपा नै प्रतिपक्ष पार्टीको भएको भन्दै सचिव सुवालले प्रेमलाई विश्वासको मत दिने दल विपक्षी दल हुने सक्दैन । नेपाल नागरिकको हैसियतले पूर्वराजा ज्ञानेन्द्रले दल खोल्न सक्ने तर अब राजतन्त्र फिर्ता हुने सम्भव नभएको उनको भनाइ थियो ।

नेका, एमाले, माओवादीजस्ता शासक पार्टीहरु एकै ड्यांका मुला हुन् भन्दै सबै शासक दलहरुले देशघाती एमसीसी पारित गरेको तर्क गरे ।

उनले एमसीसीमा वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भएको भन्दै तत्कालीन प्रम देउवाले सित्तैमा आएको लिने तर्क राखेको बताए ।

नेमकिपाले एमसीसीविरुद्ध ४० जिल्लामा १५० स्थानमा जुलुुस प्रदर्शनको आयोजना गरेको उल्लेख गर्दै सचिव सुवालले एमसीसीको कारण देशको सार्वभौमिकता संकटमा रहेको धारणा व्यक्त गरे ।

सचिव सुवालले नेपालमा आर्थिक संकटमा परेको भन्दै नेपाल श्रीलंका बन्ने खतरा आएको भनाइ राखे । उनले नेपाल कृषि प्रधान मुलुक भएर पनि खाद्यान्नसमेत आयात गर्नु परेको बताउँदै ३५ उद्योग सञ्चालन गर्न गहुँ उपलब्ध नभएको तथ्य राखे ।

मधेश प्रदेश भारतको इच्छाअनुसार बनेको भन्दै सचिव सुवालले पाकिस्तानबाट बंगलादेश टुक्राएजस्तै नेपाललाई टुक्राउने जालसाजी गरिएको तर्क गरे । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पार्टीको संगठन र अनुशासनबारे प्रशिक्षण दिएका थियो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष प्रकाश गुरुङले मानव समाजको विकासको बारे प्रशिक्षण दिएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर