भेरी बबई डाइभर्सन परामर्शदाता इरानी कम्पनीसँगकाे सम्झौता रद्द – Nepal Press

भेरी बबई डाइभर्सन परामर्शदाता इरानी कम्पनीसँगकाे सम्झौता रद्द

सुर्खेत । नेपालमा पहिलो पटक टनेल बोरिङ्ग मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी निर्माण गर्न लागिएको गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको परामर्शको जिम्मेवारी पाएको इरानी कम्पनीसँगको सम्झौता रद्द भएको छ ।

आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्य गर्न छनोट गरिएको परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँग सम्झौता आयोजनाले रद्द गरेको हो ।

२०७६ असोज ६ गते एमजीसीई र नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (ईकोकोडी) सँग आयोजनाले परामर्शदाताका लागि सम्झौता गरेको थियो ।

कम्पनीले सर्तअनुसार काम नगरेपछि सम्झौता रद्द गरिएको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) लेखनाथ सुवेदीले जानकारी दिए ।

अमेरिकी प्रतिबन्ध (कालो सूची)मा परेपछि कम्पनीले बैंक खाताबाट साढे ३ करोड रकम निकाल्नसमेत पाएको छैन । जसले गर्दा कर्मचारीहरूले १ वर्षदेखि पारिश्रमिक पाएका छैनन् । अमेरिका सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो । कम्पनीले १ वर्षदेखि परामर्शदाताको रूपमा काम गर्न छाडेपछि आयोजनाले माघ ९ गतेबाट लागू हुने गरी कम्पनीसँगको सम्झौता रद्द गरेको हो ।

के छ आयोजनाको प्रगति ?

आर्थिक वर्ष २०७१÷०७२ बाट निर्माण सुरु भएको आयोजनाले हालसम्म ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाइएको छ । लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ्ग निर्माण भइसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले तोकिएको समयभन्दा १ वर्षअगावै टीबीएमको सहायताले सुरुङ निर्माण सकेको हो ।

हाल दोस्रो चरणका कामहरु सिभिल संरचना (हेड वर्कस् पावरहाउस तथा सर्ज साफ्ट), हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकलअन्तर्गतका काम भइरहेको छ ।

दोस्रो चरणका बाँध र विद्युत गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै चालू आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भए पनि विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामग्री अभावका कारण आयोजना २ वर्ष पछाडि धकेलिने भएको छ ।

आयोजनाले हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका कामहरू रहेको आयोजनाका सूचना अधिकारी सुवेदीले जानकारी दिए । आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सन् १९९८ मा जापानको अन्तराृष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो । जसमा भेरी नदीको पानी बबईमा खसाली जलविद्युत र सिंचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । सोहीबमोजिम सिंचाइ विभागले आर्थिक वर्ष २०६८ भदौ ७ गते निर्माण कार्य थाल्ने घोषणा गरिएको थियो । तर, विविध कारणले यसको निर्माण कार्य आर्थिक वर्ष २०७१/०७२ मा सुरु भएको थियो ।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेस्थित भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण हुनेछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज निर्माण गरी १२ किलोमिटर सुरुङमार्फत भेरीको पानी भेरीगंगा नगरपालिका ५ हात्तीखालस्थित बबईमा डाइभर्ट गरिनेछ । जसबाट ४६ दशमलव ८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । त्यस्तै बाँके र बर्दियामा ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य आयोजनाले राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *