स्वास्थ्यको ११औं तह बढुवामा मापदण्ड मिचियो, लोकसेवाको निर्णय खारेजीको मागसहित मुद्दा दर्ता – Nepal Press

स्वास्थ्यको ११औं तह बढुवामा मापदण्ड मिचियो, लोकसेवाको निर्णय खारेजीको मागसहित मुद्दा दर्ता

काठमाडौं । कैलालीको टीकापुर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (दशौं) तहमा कार्यरत डा.रेमकुमार राईले आफू भन्दा अयोग्य व्यक्तिलाई एघारौं तहमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाल आफूभन्दा अयोग्य भए पनि उनलाई लोक सेवा आयोगले बढुवा गरेर आफूमाथि अन्याय गरेको भन्दै ढकालसहित आयोगलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि विपक्षी बनाएका छन् । विपक्षी बनाइएका ढकालको दशौं तहमा भएको स्तरवृद्धिको मितिबाट अहिलेसम्म बढुवाको सेवा अवधि नपुगेको भन्दै लोक सेवा आयोगले बढुवा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा सिफारिस गर्ने र आफूलाई वैकल्पिक योग्यताक्रममा सिफारिस गर्ने गरी गरेको निर्णय र निर्णयसँग सम्बन्धित सबै काम कारवाही त्रुटीपुर्ण एवम गैरकानूनी भएको निवेदकको दाबी छ ।

यसले आफूलाई संविधान र कानूनले प्रदान गरेको पेशा, रोजागर र व्यवसाय गर्ने पाउने हक, कानूनको समानता र कानूनको समान संरक्षण प्राप्त हुने हकको गम्भीर असर परेको र अन्य प्रभावकारी वैकल्पिक उपचारको बाटोसमेत नभएको भन्दै आफ्नो मौलिक एवम संवैधानिक हक र कानूनी हकको संरक्षणका लागि न्यायिक उपचारका लागि रिट निवेदन दिएको निवेदकले बताएका छन् । त्यसैले आयोगले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै आफुलाई बढुवा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गर्न गराउन र सिफारिस बमोजिम आफूलाई नियुक्ति गर्नुपर्ने पनि माग गरेका छन् ।

यस्तै निवेदक राईले विपक्षी बनाइएका ढकाललाई बढुवा नियुक्तिका लागि सिफारिस गर्ने र आफूलाई वैकल्पिक योग्याताक्रममा सिफारिस गर्ने निर्णय र निर्णयसँग सम्बन्धित कामकारवाही नगरेमा आफूलाई अपुरणीय क्षति हुने भन्दै मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म कार्यान्वयन नगर्न भन्दै विपक्षका नाममा अन्तरिम आदेशको पनि माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राईलाई २०६६ माघ २५ गते सचिवस्तरीय निर्णय गर्दै नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, आठौ तहको मेडिकल अधिकृत पदमा स्थायी नियुक्त गरेको थियो । उनी २०७७ असोज २८ गतेदेखि २०७९ कात्तिक १५ गतेसम्म टीकापुर अस्पतालमा कार्यरत थिए । एघारौं तहमा बढुवाका प्रक्रियाका लागि आवेदन दिने मिति २०७९ कात्तिक १५ गतेसम्म २ वर्ष १५ दिन दशौं तहमा रहेर दुर्गम ठाउँ टीकापुरमा सेवा गरेकोले एघारौ तहको आन्तरिक प्रतियोगितात्मक बढुवाका लागि उम्मेदवार हुन सेवा अवधि पुगी आफू योग्य भएको पनि रिटमा दाबी गरेका छन् ।

यस्तै लोक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परिक्षामा २०७९ पुष २ गते प्रथम पत्र र २०७९ पुष ६ गते द्धितीय पत्रको लिखित परीक्षामा सहभागी भएर पनि आफू ३ नम्बरमा उर्तिण भएको रिट निवेदनमा उल्लेख गरेका छन् । उनले लिखित परीक्षामा उर्तिण भएर २०७९ माघ २५ गते अन्तरवार्ता हुने भनेर लोक सेवा आयोगले जानकारी गराए पनि आयोगले सोही दिन डा. इन्द्र ढकाललाई बढुवा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेर आफूलाई वैकल्पिक योग्यताक्रममा सिफारिस गरिएको उनको ठहर छ ।

विपक्षी ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७५ बैशाख २३ गतेदेखि ज्येष्ठता लागू हुने गरी दशौं तहमा स्तरवृद्धि गरिएको पनि निवेदकले उल्लेख गरेका छन् । ढकालको दशौं तहको स्तरवृद्धि लागू २०७५ बैशाख २३ बाट भएको र एघारौं तहका लागि दरखास्त दिने अन्तिम मिति २०७९ कार्तिक १५ गतेसम्म ४ वर्ष ५ महिना २२ दिन पुरा भएको र उनले दशौं तहमा रहँदा दुर्गम तथा अति दुर्गम स्थानमा नबसेको भन्दै एघारौं तहको बढुवा उम्मेदवार हुन उनको सेवा अवधि दशौं तहमा ५ वर्ष अनिवार्य काम गरेको हुनुपर्ने भएकाले उनको न्यूनतम सेवा अवधी नपुगेको दाबी गरेका छन् ।

यस्तै कुनै पनि तहको पदमा कम्तीमा दुई वर्ष काठमाडौं उपत्यका बाहिरका जिल्लामा सेवा गरेको र बढुवा हुन् पदभन्दा एक तह मुनिको पदमा ५ वर्ष सेवा गरेको भएमा मात्र बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने भनी बढुवाको लागी न्यूनतम योग्यता र सेवा अवधि सम्बन्धी व्यवस्था रहेको पनि स्मरण गराएका छन् ।

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि छानविन गरेर सिफारिस संसोधनका लागि उजुरी गरेमा छन् । उनले लोक सेवा आयोगले डा.राईलाई सिफारिस गरेको निर्णय रद्द गरेर सिफारिसको योग्यताक्रम संशोधन गर्नका पहल गर्न अनुरोध गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर