राष्ट्रपतिको रेस- के हो देउवाको केस ? – Nepal Press

राष्ट्रपतिको रेस- के हो देउवाको केस ?

काठमाडौं । राष्ट्रपति चयनमा निर्णायक बनेको माओवादीले एमालेसँगको सहमति तोड्ने संकेत गरेसँगै कांग्रेस जुर्मुराएको छ । तर, कांग्रेसले कसलाई राष्ट्रपति उम्मेदवार बनाउँछ भन्ने अझै स्पष्ट भएको छैन ।

कांग्रेसबाट राष्ट्रपति बन्न लालायितहरुको सूची लम्बिँदै जाँदा पछिल्ला दिनमा स्वयं सभापति शेरबहादुर देउवाको नाम लिन थालिएको छ । उनले आफू राष्ट्रपति नबन्ने बताइरहँदा पनि केही नेताहरुले उनलाई घच्घच्याइरहेका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न सार्वजनिक रुपमै आग्रह गरिसकेका छन् । के देउवाले छैटौं पटक प्रधानमन्त्री बन्ने दौड त्यागेर आफूलाई राष्ट्रपतिमा सेटलमेन्ट गर्न चाहलान् ?

गत पुस १० मा पाँचदलीय गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । तर, कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिमा उथलपुथलको सम्भावना बढिरहेको छ । प्रमुख पार्टीहरु एक–अर्को पार्टी र नेतासँग प्रतिशोध लिने हिसाबले रणनीति बुनिरहेका छन् ।

कांग्रेसले राष्ट्रपतिमा दाबी गरिरहँदा सबैभन्दा बढी रामचन्द्र पौडेलले सो पदमा लोभ देखाइरहेका थिए । जीवनमा अहिलेसम्म पार्टी र सर्वोच्च पदमा नपुगेकाले उनी राष्ट्र प्रमुख बनेर आफ्ना सबै दुःख बिर्सिन चाहन्छन् । यसअघि उनी प्रधानमन्त्रीका लागि लालायित थिए । तर, देउवाले राष्ट्रपति बनाइदिने आश्वासन दिएर उनलाई थामथुम पारे । अन्ततः पौडेलले देउवालाई नै संसदीय दलमा समर्थन गर्न पुगे । भलै देउवा पनि प्रधानमन्त्री बन्न भने सकेनन् ।

माओवादी अध्यक्ष प्रचण्ड एमालेको कित्तामा हुत्तिएपछि तत्काल छैटौंपटक प्रधानमन्त्री बन्ने देउवाको आकांक्षामा तुषारापात भएको थियो । अब प्रधानमन्त्रीलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न दिने प्रस्ताव कांग्रेसले गरेको छ । पाँच वर्षपछि उमेर र स्वास्थ्यको हिसाबले देउवा फेरि प्रधानमन्त्री बन्ने स्थिति नरहला । त्यसैले बरु राष्ट्रपति बनेर शीतलनिवासमा आराम गर्ने कि भन्ने मनस्थितिमा पुगेको स्रोतहरु बताउँछन् । पार्टीका केही नेताले उनलाई यही सुझाव दिएका छन् ।

देउवा र पौडेलबाहेक कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मालगायतको नाम पनि राष्ट्रपतिको आकांक्षीको रुपमा चर्चामा छ । तर, अन्तिम निर्णय देउवाकै हातमा देखिन्छ । विगतमा रामचन्द्रलाई गरेको वाचाका कारण उनी आफैं अघि बढ्न नैतिक संकट भइरहेको स्रोतको भनाइ छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पार्टी सभापतिले राष्ट्रपतिको उम्मेदवार बन्ने आफूलाई विश्वास नलागेको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँ राष्ट्रपतिको उम्मेदवार बन्नुहुन्छ जस्तो मलाई लाग्दैन । पार्टीभित्र केही चर्चा आएपछि उहाँलाई राष्ट्रपति बनाउन मिल्दैन भन्ने पक्षमा छु ।’

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपतिमा जानु उचित नहुने उनको राय छ । अन्य पार्टीहरुसँग छलफल गरेरमात्रै राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने उनले बताए ।

लेखकले भने, ‘हामी पछिल्लो परिस्थितिलाई नियालिरहेका छौं । अरु पार्टीसँग छलफलपछि मात्रै उम्मेदवार टुंगो लगाउँछौं । समीकरण हेरेर आवश्यकताअनुसार उम्मेदवारको तय हुन्छ ।’

अर्का नेता मीनबहादुर विश्वकर्मा पनि पार्टी सभापतिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा कुनै छलफल नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘चर्चा धेरै हुन्छन् । पार्टी सभापतिलाई नै उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएको छैन । तर, उहाँ त्यसका लाथि तयार हुनुहुन्छ जस्तो पनि लाग्दैन । बाहिर चर्चा भइरहेकामध्ये रामचन्द्र दाइको सम्भावना छ ।’

आकांक्षीहरुमध्ये पार्टी सभापतिपछिको दोस्रो वरियतामा पौडेल नै रहेकाले उनकै नाममा सहमति बन्नसक्ने विश्वकर्मा बुझाइ छ ।

तर, आफ्नो नाममा राष्ट्रपति सहमति हुनसक्ने परिस्थिति बने देउवा सकारात्मक रहेको र उनले आन्तरिक रुपमा छलफल गरिरहेको देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।

ती नेताले नेपाल प्रेससँग भने, ‘बाहिर धेरै चर्चा भइरहेका छन् । तर, देउवा दाइले पनि आफ्नो पक्षमा सहमति भए हुन्छ भन्नुभएको छ भन्ने मैले पनि सुनेको छु । त्यस विषयमा मैले भेटेर कुरा गरेको छैन ।’

तर, राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा एकपछि अर्को गरेर परिस्थिति फेरिएको हुँदा अहिले केही भन्न नसक्ने उनको भनाइ छ ।

‘अहिले परिस्थिति चेन्ज भइरहेको छ । अन्तिममा कहाँ पुग्छ भन्न सक्ने अवस्था छैन । पार्टीभित्र रामचन्द्र दाइको नाममा सहमति बनाउने कुरा भइरहेको थियो । अहिले उहाँ (देउवा)को नाम पनि चर्चा छ’, ती नेताले भने ।

त्यसो त पछिल्लोपटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नामसमेत चर्चामा आएपछि प्रचण्ड-देउवाको सम्भावित गठजोडमा अलिकति अन्योल उत्पन्न भएको छ । नेकपा एमाले अध्यक्ष ओलीले यदि नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गरे के गर्ने भन्ने द्विविधामा देखिन्छन् प्रचण्ड । यदि ओली र प्रचण्ड दुवै नेपालको नाममा सहमत भएमा यो गठबन्धन जोगिन सक्छ र कांग्रेस हिस्स पर्न पनि सक्छ ।

राष्ट्रपतिको निर्वाचनमा माओवादीको प्रमुख भूमिका रहने भएकाले आफूहरु छलफलमा रहेको कांग्रेस नेता डा. शेखर कोइराला बताउँछन् ।

सिन्धुली पुगेका नेता कोइरालाले भने, ‘राष्ट्रपतिको निर्वाचनका विषयमा माओवादीका नेताहरूसँग सल्लाह र घनीभूत छलफल गरिरहेका छौं, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईं ढुक्क हुनुस् ।’

उनले राष्ट्रपतिको निर्वाचनको विषयमा एमाले अध्यक्ष केपी ओली र नेकपा एसका माधव नेपाल मिले पनि आफूहरुलाई असर नगर्ने दावी गरे ।

‘ओली र नेपाल हिजो एकै दलका नेता हुन्, फेरि पनि उहाँहरू एक ठाउँमा रहने सम्भावना छ । तर, उहाँहरू एक भइरहँदा पनि कांग्रेसलाई कुनै असर पर्दैन । देशको पहिलो दल भएको हैसियतले कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्छ’, नेता कोइरालाले भने ।

कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ । फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली निरन्तर संवादमा रहे पनि गठबन्धनमा सहमति हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर