पदाधिकारी बैठकअघि प्रधानमन्त्री प्रचण्डले भेटे माधव नेपाल
राष्ट्रपतिमा चर्चाबारे माधव नेपालको यस्तो जवाफ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । पेरिसडाँडामा पदाधिकारी बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र नेपालबीच माओवादी संसदीय दलको कार्यालयमा भेट भएको हो ।
गण्डकी प्रदेश कमिटीको बैठकमा पोखराबाट आउनासाथ प्रचण्डले नेपाललाई भेटेका हुन् ।
छलफल राष्ट्रपति चुनावबारे केन्द्रित भएको छ । भेटपछि नेता नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने आफ्नो जोड रहेको सुनाए ।
राष्ट्रपतिको उम्मेदवारमा तपाईंको चर्चा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘ती कुराहरू पनि आइरहेका छन् । तर, राष्ट्रिय सहमति त चाहियो नि ।’
माओवादीले आजको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्दैछ ।
यसअघि आइतबार साँझ सभापति शेरबहादुर देउवासहितका कांग्रेसका शीर्ष नेताले प्रचण्डलाई भेटेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकमा छलफल गरेर निर्णय लिने आश्वासन दिएका छन् ।
प्रचण्ड र कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान राखिरहेका छन् । पुस १० मा भएको सहमतिबाट पछि हट्ने संकेत देखाएको भन्दै प्रचण्डसँग एमाले सशंकित छ । यसले सत्तागठबन्धनको भविष्यसमेत अन्यौल बनेको छ ।