स्पट फिक्सिङबारे महबुबको स्वीकारोक्ति: आरिफलाई प्रतिम्याच ६ लाख र हासिमलाई ४ लाखको अफर गरेको हुँ – Nepal Press

स्पट फिक्सिङबारे महबुबको स्वीकारोक्ति: आरिफलाई प्रतिम्याच ६ लाख र हासिमलाई ४ लाखको अफर गरेको हुँ

काठमाडौं । पूर्वक्रिकेटर महबुब आलमसहित ५ जनाविरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा महबुबलाई हासिम अन्सारीसँग भएको मोबाइल कुराकानीको अडियो रेकर्ड पनि सुनाइएको थियो । आफुसँग भएको उक्त सम्वाद अन्सारीले रेकर्ड गरेको हुनसक्ने महबुबले बताएका छन् ।

रेकर्डमा महबुबले अन्सारीलाई ‘हिजो एकजना मान्छेले सम्पर्क गरेको, कोही छ भने सम्पर्क गर्नु, पैसा कमाउन चाहन्छ भने ५ रनभित्र आउट हुनुपर्छ, ४ लाख रुपैयाँ दिन्छ, तिमी आफैं गर्छौ भने गर्दा हुन्छ, ५ रन भित्र आउट हुनुपर्छ, ४ लाख रुपैयाँ पाउँछ’ भनि प्रस्ताव गरेको सुनिएको छ । महबुबका अनुसार उनले हासिम अन्सारी र आरिफलाई मात्र प्रस्ताव गरेको र उनीहरुले स्विकार नगरेका कारण कुनै रकम नपाएको बताएका छन् ।

महबुबले सरकारी वकिल कार्यालयसँग गरेको बयान यस्तो छ –

मेरो छिमेकी भाई रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी–२० लिग सञ्चालन भइरहेको बेला निजको मोबाइलबाट मैले प्रयोग गर्ने ह्वाट्स एप नम्बरमा मलाई सम्पर्क गरेको थियो । उसले जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी आरिफ शेख र फार वेस्ट युनाइटेडका हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन दिए निजहरुलाई ६ लाख नेपाली रुपैयाँ रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनु भनेको हो ।
त्यसपछि मैले आफ्नै मोबाइलबाट तत्काल आरिफ शेखलाई निजको मोबाइल नम्बरमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे आरिफ शेखले तत्काल निर्णय दिएनन् । मैले आरिफ शेखको मोबाइल नम्बरसमेत रवी माझीलाई ह्वाट्स एपमा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनि म्यासेज पठाएको थिएँ । खेलाडीको काम हुनासाथ पैसा उपलब्ध हुने उनले बताएका थिए ।
सो पश्चात मैले आरिफ शेखको म्यासेन्जरमा तिमीलाई कसैले फोन ग¥यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनि जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गर्दै बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि म्यासेन्जरमा बताएको थिएँ । मलाई पनि प्रतिम्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गराएको थिएँ । आरिफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नुपर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । निजलाई ६ लाख दिने भनि रवि माझिको प्रस्ताव चाहीँ मैले आरिफ शेखलाई राखिदिएको हुँ ।
पुस १४ गते हासिम अन्सारीले मलाई फोन गरेका थिए । उक्त समयमा निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ४ लाख रुपैयाँ दिन रवि माझिको प्रस्ताव मैले राखिदिएको हुँ । निजले तत्काल कुनै निर्णय दिएनन् । हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो सोबारे रवि माझीले बताएका थिएनन् । रवि माझिले ६ लाख रुपैयाँमध्ये मलाई २ लाख दिने प्रस्ताव गरेका कारण हासिम अन्सारीलाई ४ लाख रुपैयाँ दिने प्रस्ताव गरेको हुँ । खेलाडीले प्रस्ताव स्वीकारे मात्र मैले २ लाख रुपैयाँ पाउने रवि माझीले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *