कमल थापा फेरि राजसंस्थाको पक्षमा ? दलहरुसँग सहकार्यको प्रस्ताव सान्दर्भिक रहेको टिप्पणी – Nepal Press

कमल थापा फेरि राजसंस्थाको पक्षमा ? दलहरुसँग सहकार्यको प्रस्ताव सान्दर्भिक रहेको टिप्पणी

‘राजाको आगामी कदम म उत्सुकतापूर्वक पर्खिरहेको छु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाद्वारा राजनीतिक दलहरुसँग गरिएको सहकार्यको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । पूर्वराजाको आगामी कदम आफूले उत्सुकतापूर्वक पर्खिरहेको पनि उनले बताएका छन् ।

राप्रपाको महाधिवेशनपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै थापाले राजतन्त्रको एजेन्डा त्यागेका थिए । त्यसयता बारम्बार पूर्वराजसंस्थाप्रति तिक्तता ओकलेका थापाले पहिलोपटक नरम प्रतिक्रिया दिएका हुन् । आज एक वक्तव्य निकाल्दै उनले घुमाउरो ढंगले देशमा राजसंस्था स्थापनाको पक्षमा आफूलाई उभ्याएका छन् ।

थापाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरिनु सकारात्मक भएको मलाई लागेको छ । ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’ भन्ने राजा ज्ञानेन्द्रको भनाइ सान्दर्भिक छ । यस्तो सोच धेरै अघि नै आउनुपर्थ्याे, धेरै ढिलो भैसक्यो । बागमतीमा धेरै पानी बगिसक्यो ।’

नेपालको भूराजनीतिक अवस्था तथा सामाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचारबीचको सामञ्जस्यता देशको निम्ति उपयुक्त हुने आफ्नो मान्यता रहेको उनले प्रष्ट पारेका छन् । गणतन्त्रवादी र राजावादीबीचको ‘सिनर्जी’ नेपालको हितमा हुने पनि उनको निष्कर्ष छ ।

‘सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषयमात्र हुनुहुँदैन’, उनी थप्छन्, ‘सहकार्यको अवधारणा अघि सार्दा त्यसलाई व्यवहारमा रुपान्तरण गर्नेबारे समेत राजाले सोचेको हुनुपर्छ । बल राजाकै कोर्टमा छ ।’

राजसंस्था पाखा लगाउने काम नेपाली जनताले भोट हालेर व क्रान्तिबाट नगरेको थापाले स्मरण गरेका छन् ।

‘देशीविदेशी शक्तिहरुको षड्यन्त्रबाट एकप्रकारले भन्ने हो भने ‘एम्बुस’मा पारेर राजसंस्था हटाइएको हो । तथापि अहिले राजसंस्था हटेको छ र देशमा गत चौध वर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ । यो धरातलीय यथार्थ हो । निश्चय पनि गणतन्त्रले जनताको जीवनमा सुधार आउन सकेको छैन, व्यवस्था परिवर्तन भए पनि अवस्था सुधार नभएको आम गुनासो छ । यसो भन्दैमा गणतन्त्र स्वतः हटेर राजसंस्था आउने होइन । राजा फर्कने वित्तिकै परिस्थितिमा चमत्कारिक सुधार हुने पनि होइन’, थापाले भनेका छन् ।

राजसंस्था पाखा लगाउँदा राजनीतिक दलहरुले विगतमा राजाबाट पटक-पटक प्रजातन्त्र मास्ने काम भएको र नेपालमा राजसंस्था प्रजातन्त्र र दलहरुविरुद्ध रहेको धारणा रहेको उनको विश्लेषण छ ।

उनी थप्छन्, ‘सहकार्यको प्रस्ताव गर्दा यो अविश्वास र आशंका निराकरण गर्ने जिम्मेवारी स्वयं राजाकै हो । किनभने देश जतिसुकै संकटग्रस्त रहे तापनि राजसंस्थासँग सहकार्य गर्ने अहिलेसम्म दलहरुको सोचाइ र प्राथमिकतामा छैन । राजनीतिक दलहरु राजसंस्था पुनःस्थापनाको ‘मुड’ मा छैनन् । त्यसर्थ, अविश्वास र आशंका निराकरण प्रयासको पहलकदमी राजाबाट हुनु सहकार्यको पहिलो पाइला हुनेछ ।’

दलहरुसँगको अविश्वास र आशंकाको खाडल पुर्न राजाबाट आगामी दिनमा कस्तो पहल हुन्छ हेर्न बाँकी नै रहेको थापाले बताएका छन् । पुरानो अनुभवलाई विचार गर्दा यो सहकार्यको प्रस्ताव पनि पानीको फोका हुनसक्ने पनि उनको आशंका छ ।

‘पहल राजा स्वयंबाट हुनु जरुरी छ । किनभने राजाको पक्षमा बोलिदिने अहिले राष्ट्रियस्तरका कुनै विश्वसनीय नेता वा भरपर्दो दल छैनन्’, थापाको वक्तव्यमा भनिएको छ ।

‘राजसंस्था पुन:स्थापित भए राजनीतिक दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुने छैन, प्रजातन्त्र कमजोर पार्ने काम हुने छैन, दल र जनताले विश्वास गर्ने ‘ग्यारेण्टी’ आवश्यक छ’, उनले भनेका छन् ।

‘दल र नेताहरुको कमजोरी वा असफलताको परिणामस्वरूप राजसंस्था पुनःस्थापना हुने होइन । प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई रहन्छ । त्यसैले दलहरुले सिर्जना गरेको फोहोर देखाएर होइन, राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको निम्ति राजसंस्था सहायक हुन्छ भन्ने मान्यताको विकास हुनुपर्छ ।’

प्रजातन्त्र दिवसको अवसरमा राजाको सन्देशमा केही विरोधाभास देखिएको थापाको टिप्पणी छ ।

‘एकातिर सहकार्यको कुरा गर्ने, अर्कोतर्फ अब ‘मौन नबस्ने’ चेतावनी दिइएको छ । यी परस्परविरोधी कुरा हुन् । यस्तो चेतावनीले दलहरुसँग सहकार्य होइन, द्वन्द्व बढाउनेछ’, उनले भनेका छन् ।

नेपालमा विदेशीले बोकेर वा देशमा राजनीतिक अस्थिरता बढाएर सेनाले राजसंस्था ल्याइदिन्छ भन्ने राजा ज्ञानेन्द्रको सोचमा परिवर्तन आएको आफूले महसुस गरेको उनले बताएका छन् ।

‘राजाको आगामी कदम म उत्सुकतापूर्वक पर्खिरहेको छु’, उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर