आन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धि रक्षामा प्रधानमन्त्रीको जोड – Nepal Press

आन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धि रक्षामा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादउन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका छन् ।

‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर