उत्कृष्ट लयमा सन्दीप, लिग–२ मा विकेट लिने तेस्रो खेलाडी बने – Nepal Press

उत्कृष्ट लयमा सन्दीप, लिग–२ मा विकेट लिने तेस्रो खेलाडी बने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा ५० विकेट पूरा गर्ने र सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै उनले उक्त सफलता हासिल गरेका हुन् ।

लिग २ मा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने रेकर्ड पनि सन्दीपले राखेका छन् । उनले मात्र २३ खेलमा ३.९१ को इकोनोमी कायम गर्दै ५१ विकेट पुरा गरेका छन् । सर्वाधिक विकेट टेकरको सूचीमा ओमानका बिलाल खान शीर्षस्थानमा छन् छन् ।

उनको नाममा ७६ विकेट रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रवाल्करको नाममा ५८ विकेट छ । यी दुवै खेलाडीले क्रमशः ३५ र ३४ म्याचमा त्यति विकेट लिएका हुन् ।

सन्दीपले भने अहिलेसम्म २२ इनिङ मात्र बलिङ गरेका छन् । त्यसैले सूचीको शीर्षस्थानमा उक्लिन उनीसँग प्रशस्त समय छ । तर, उनले विदेशमा गएर खेल्न नपाउने भएकाले नेपालमा हुने खेलहरूमा निर्भर रहनुपर्छ । लिग २ अन्तरगत अब नेपालमा ६ खेल हुनेछन् ।

सर्वाधिक विकेट लिनेको सूचीमा नेपालका करण केसी पनि छन् । उनले २३ म्याचमा ४३ विकेट लिँदै सातौँ स्थानमा रहेका हुन् । तर, उनको इकोनोमी खराब छ ।

जारी त्रिकोणात्मक सिरिजमा पनि सन्दीप उत्कृष्ट लयमा छन् । उनले तीन वटा खेल खेल्दा ९ विकेट लिएका छन् । प्रत्येक खेलमा उनले ३–३ विकेट लिन सफल भए । यो प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने बलरको अग्रस्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर