पटनामा झलनाथको सम्बोधन- दक्षिणपन्थी भड्काउले कम्युनिष्ट एकता टिकेन, राजावादीहरु सक्रिय भए – Nepal Press

पटनामा झलनाथको सम्बोधन- दक्षिणपन्थी भड्काउले कम्युनिष्ट एकता टिकेन, राजावादीहरु सक्रिय भए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दक्षिणपन्थी भड्काउको कारणले कम्युनिष्ट पार्टीहरुबीचको एकता जोगाउन नसकेको बताएका छन् ।

भारतको पटनामा आयोजित भारतीय माक्र्सवादी लेनिनवादी लिबरेसन पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको बताए ।

उनले पूँजीवादी‐जनवादी क्रान्ति सम्पन्न भएपछि १० वर्ष लगाएर संविधान बनाएपछि देशका ठूलाठूला बाम पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनाव लड्दा दुईतिहाइ बहुमत प्राप्त गरेको उल्लेख गरेका छन् ।

उनले भने, ‘तब हामीले मुलुकको सामाजिक‐आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्दै समाजवादका आधार तयार पार्ने अवस्थामा पुगेका थियौं । तर पार्टीभित्र विकसित हुँदै गएको दक्षिणपन्थी भड्काउको कारणले तत्कालीन प्रधानमन्त्रीले असंवैधानिक रुपले संसद नै विघटन गर्न पुगे । त्यस घटनाले मुलुकलाई अस्थिरता तिर मात्र लगेन, नेपालको कम्युनिष्ट आन्दोलन पुनः विभाजन तिर अग्रसर भएको छ । त्यसको परिणाम हो हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को गठन ।’

सही क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पार्टी निर्माण गर्ने र कम्युनिष्ट आन्दोलनको एकतालाई फराकिलो बनाउने, दलाल पुँजीवादका विरुद्ध व्यापक संयुक्त मोर्चा निर्माण गर्ने र संसद भित्र र बाहिरबाट बहुआयमिक वर्ग संघर्षको विकास गर्ने कार्यदिशाका आधारमा जनताको क्रान्तिकारी जनमत निर्माण गर्दै अघि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘संघीय संसद त्रिशंकु बन्न पुगेको छ । कुनैपनि पार्टीको बहुमत छैन । अहिले निर्वाचित भएका पार्टीहरु तीनखाले छन् । पहिलो पुनरुत्थानवादी राजावादी शक्तिहरु, दोस्रो पूँजीवादी यथास्थितिवादी पार्टीहरु र तेस्रो वामपन्थी पार्टीहरू । यी तीन खालका शक्तिहरु मध्ये सबै वामपन्थी पार्टीहरू साझा सवालमा एकताबद्ध बन्ने हो भने अहिले पनि संसदमा बहुमत पुग्छ र वामपन्थी सरकार बन्छ ।’

ठूला भनिने वाम पार्टीहरुमा विकसित भइरहेको दक्षिणपन्थी भड्काउले गर्दा पुनरुत्थानवादीहरूसँग वा यथास्थितिवादीहरूसँग साँठगाँठ गर्ने स्थितिमा पुगेका उनको भनाइ छ। संसदभित्र र बाहिरबाट समाजवादी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउँने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर