महाशिवरात्रिका पूर्वसन्ध्यामा पशुपतिनाथ : ३० लाख दर्शनार्थी आउने अनुमान (भिडिओ) – Nepal Press

महाशिवरात्रिका पूर्वसन्ध्यामा पशुपतिनाथ : ३० लाख दर्शनार्थी आउने अनुमान (भिडिओ)

काठमाडौं । महाशिवरात्रिको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथमा चहलपहल बढेको छ ।

महाशिवरात्रिका लागि भक्तजन लगाएत साधुवाबाहरुको आगमनसंगै पशुपतिनाथमा चहलपहल बढेको हो । शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो । यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

भक्तजनहरुलाई सहज रुपमा पशुपतिनाथको दर्शन गराउन विभिन्न स्थानबाट प्रवेश लाइनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार नै नेपाल आइसकेका छन् ।

पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरेको छ भने फूल र वत्तीले पशुपति क्षेत्रलाई सजाइएको छ । दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *