मन्त्री किराँती भन्छन्- राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै हुन्छ – Nepal Press

मन्त्री किराँती भन्छन्- राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै हुन्छ

पोखरा । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिबाट हुने दाबी गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक भएकाले राष्ट्रिय सहमतिमै हुने दाबी गरे ।

‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो । सबैको स्वीकार्य हुने, राष्ट्रिय सहमति बन्ने बाटोबाट राष्ट्रपति निर्वाचन हुनेमा ढुक्क हुनुस्,’ मन्त्री किराँतीले भने ।अहिलेको गठबन्धन फेरिने र कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउने भनी आएका समाचारमा सत्यता नभएको उनले बताए । मन्त्री किराँतीले भने, ‘कान मेरो यही छ, कागलाई मैले देखेको छैन ।’

चुनौती नै चुनौतीको माझमा आफू आएको उनले सुनाए । सांकेतिक रुपमा उनले भने, ‘हामीसँग जादूको छडी छैन, हामी समस्याको चाङमा उभिएका छौं ।’ माघ १ गते भएको यति एअरको विमान दुर्घटनापछि हवाई यात्रु कम भएको र नयाँ विमानस्थलको भविष्यबारे अनेक बहस भइरहेका बेला पोखरा आएका किराँतीले थपे, ‘म यतिकै जहाजबाट आएँ । मनोवैज्ञानिक आतंक कम गर्नु जरुरी छ,’

अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक पहल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको मन्त्री किरातीले बताए । पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले कूटनीतिक पहल गरिरहेको किरातीले सुनाए ।

गत पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडानमात्र भएका छन् । पोखरेलीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग छ । मन्त्री किराँतीले भने, ‘पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि कोशिस मन्त्रालयले भगिरथ प्रयत्न गरिरहेको छ ।’

उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखराको पुरानो विमानस्थल कसरी चलाउन सकिन्छ भनी कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको उनले सुनाए । ‘यो सिंगो गण्डकी प्रदेशको सबाल हो । यसबारे छलफल सुरु भएको छ । चाडै समुचित उपयोग गर्ने उपाय निकाल्छौं,’ उनले भने

नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घन्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ । माघ १ गतेको विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबारमात्र बुझाएको उल्लेख गरे । सम्पुर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने उनले प्रतिवद्धता गरे ।

नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने, फाइदामा जाने वातावरण बनाउनेतर्फ ध्यान केन्द्रीत भएको मन्त्री किराँतीले सुनाए । युरोपियन युनियनले नेपालको हवाइ सेवालाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउने कोशिस र कामहरु गरिरहेको उनले बताए । ‘निगम नाफामा जाने, सबैतिर पहुँच पु¥याउने र यसलाई देशकै गौरव बनाउने गरी काम गर्ने योजना छ,’ किराँतीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर