क्वात्राको भ्रमणपछि तरङ्गित राजनीति: गैरकम्युनिष्ट राष्ट्रपतिको सम्भावना कति ? – Nepal Press
टिप्पणी

क्वात्राको भ्रमणपछि तरङ्गित राजनीति: गैरकम्युनिष्ट राष्ट्रपतिको सम्भावना कति ?

काठमाडौं । नेपालमा राजदूत भएको निकट विगतको अनुभव लिइसकेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार दुईदिने नेपाल भ्रमण सकाएका छन् । क्वात्राले सन् २०२० मार्च १ देखि २०२२ अप्रिल १६ सम्म नेपालको लागि भारतीय राजदूत भई काम गरेका थिए । नेपालको राजदूतबाट बिदा भएलगत्तै सोही वर्ष मे १ मा क्वात्रा भारतीय विदेश सचिव भएका थिए । भारतीय सत्ताधारी दलका प्रिय पात्र क्वात्राको कार्यावधि गत नोभेम्बरमा १६ महिना थपिएको थियो । उनी सन् २०२४ अप्रिल ३० सम्म विदेश सचिव रहनेछन् ।

उनै प्रभावशाली क्वात्राको फागुन १ र २ गतेको नेपाल भ्रमणका बारेमा आएका औपचारिक जानकारीहरुको भाषा हेर्दा यात्रा दुई देशबीचमा सचिवहरुको नियमित भ्रमण जस्तो देखिन्छ । तर, क्वात्राले गरेको राजनीतिक भेटघाट हेर्दा उनको भ्रमणले सचिवस्तरीय औपचारिक भेटघाटभन्दा परको अर्थ बोक्छ ।

क्यात्राले अरु विदेशी शक्ति केन्द्रका प्रतिनिधिहरु आउँदा नभेटिने पात्रहरु पनि भेटेका छन् । आफ्ना समकक्षीबाहेक राष्ट्रपति, प्रधानमन्त्री हुँदै देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दलका नेताहरुलाई भेट्नु विदेशी शक्ति केन्द्रहरुको नियमित रुटिन नै हो ।

अमेरिकी र चिनियाँ अधिकारीहरु आउँदा पनि देशका मुख्य तीन दलका प्रमुख र सरकारका मान्छेहरु भेट्ने प्रचलन जस्तै हो । तर, क्वात्राले अरु विदेशी प्रतिनिधिहरु आउँदा भेटको सूचीमा नहुने नेताहरु पनि भेटेका छन् । उनले माधवकुमार नेपाल, शेखर कोइराला, बालकृष्ण खाणदेखि पूर्णबहादुर खड्कासम्म वेग्लावेग्लै भेटेका छन् । राष्ट्रिय दलको मान्यता नपाएकोे नेकपा एसका अध्यक्ष नेपाल र कांग्रेसकै दोस्रो तहका नेताहरुलाई भेट्नुमा फगत शिष्टाचार भेटघाटमात्रै पक्कै होइन ।

नेपाली समकक्षी भरतराज पौड्यालसँग भेटघाट गरेका क्वात्राको भ्रमणले न नेपालले मागेको पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले दिने हवाई रुटको विषयमा कुनै सकारात्मक रिजल्ट नै दिए न त दुई सचिवको भेटमा नेपालले माग्दै आएको दीर्घकालीन विद्युत निर्यातको सवालमै केही ब्रेकथ्रु नै गर्‍यो ।

भारत भ्रमणको औपचारिक निम्तो लिएर आएका भनिएका क्वात्राले त्यस्तो ठोस मिति तोक्नेस्तरको भ्रमणको निम्तो पनि दिएनन् । भारतीय दूतावासले जारी गरेको औपचारिक रिलिजमा नेपाल-भारत सीमापार कनेक्टिभिटी, जलस्रोतदेखि व्यापार तथा संस्कृति आदि क्षेत्रमा सहकार्यको कुरा भएको भनिएको छ । तर, देखिने प्रगति क्वात्राको नेपाल भ्रमणमा आएन ।

नेपालको निर्याणक घटनामा भारतीय अधिकारीहरु आएर आफ्नो पक्षमा माहोल बनाउन लबिङ गर्ने स्थापित प्रचलन नै हो । यही संस्कृतिको निरन्तरता दिन नेपाल भ्रमणमा आएका क्वात्राले राष्ट्रपति चुनावमा एक सन्देश दिएर गएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले किटान गरेर १० गतेभित्र सत्ता गठबन्धन ढाल्ने अभिव्यक्ति दिनुदेखि माओवादी महासचिव देव गुरुङले राष्ट्रपति स्वतन्त्र र साझा व्यक्ति हुनुपर्ने तर्क गरेका छन् ।

प्रचण्डले सर्वदलीय बैठक गरेर ल्याएको साझा सहमतिको राष्ट्रपतिको उम्मेदवारको बहस सुरुमा माओवादी नेताहरुले दोहोर्‍याए । अहिले साझा उम्मेदवारभन्दा एक कदम अगाडि बढेर नेपाली कांग्रेसका नेताहरुले गैरएमाले उम्मेदवार बनाउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । क्वात्राको नेपाल भ्रमणपछि भने डेटलाइन तोकेरै सत्ता गठबन्धन ढल्ने तर्कहरु आउन थालेका छन् ।

नेपालमा कम्युनिष्ट राष्ट्रपति हुँदा भारतले असहज मान्ने भारतीय मिडिया र बौद्धिकहरुले बोल्ने सार्वजनिक मन्तव्यमै झल्किन्छ । पछिल्लो समयमा राष्ट्रपति एमाले र प्रधानमन्त्री माओवादीको सूत्रहित नयाँ गठबन्धन बनेपछि भारतलाई थप असहज भएको देखिन्छ । क्वात्राको दोस्रो तहका नेताहरुसम्म भएको ब्याक टु ब्याक छलफलले त्यही संकेत गर्छ । फागुन २५ गते तय भएको राष्ट्रपति चुनावको लागि अहिले कम्युनिष्टहरुको एकल बहुमत पुग्ने मतभार छैन । त्यसमा माओवादीले एमालेलाई अस्वीकार गर्ने कूटनीतिक भाषा प्रयोग गरेर ‘साझा’ उम्मेदवारको बहस ल्याइसकेको छ ।

यी सबै घटनाक्रमले अबको सत्ता गठबन्धनको पूर्वसर्तअनुसार एमालेको उम्मेदवारले जित्ने सम्भावना कम छ । जित्ने परको कुरा, एमालेलाई सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा स्वीकार गर्ने सम्भावना झनै कमजोर छ । भारतले सहज मान्ने गैरकम्युनिष्ट उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवारको रुपमा सारेर बहुमत पुर्‍याउने कसरत देखिन्छ । रामचन्द्र पौडेल, कृष्ण सिटौला, महन्थ ठाकुरमध्ये एकको नाममा सहमति जुटाउने प्रयास भएको देखिन्छ । त्यो कसरतमा बल पुग्नेगरी प्रधानमन्त्री दाहाल र सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक एमाले अध्यक्ष ओलीका किस्ता किस्तामा भएका लामा-लामा बैठकहरुले कुनै निचोड दिन सकेका छैनन् ।


प्रतिक्रिया

One thought on “क्वात्राको भ्रमणपछि तरङ्गित राजनीति: गैरकम्युनिष्ट राष्ट्रपतिको सम्भावना कति ?

  1. ब्रिटिशले यिनलाई जे गरे त्यहि अरूलाई गर्नुपर्छ भन्ने कुरा जिनमा नै सरेर आएजस्तो छ यिनको। नेपाललाई नियन्त्रित अस्थिरतामा मात्र राख्न चाहाने भारत नेपालक‍ो सबैभन्दा ठूलो शत्रु देश हो । यिनलाई ब्रिटिशले दबाउन पुगेकै थिएन । दबाएर अन्त्यमा पुर्याएको भए थाहा हुन्थ्यो अर्काको देशमाथि हस्तक्षेप गर्दा के हुन्छ भन्ने । यस्ता डाका देशको पनि बफादार बन्ने कुकुरहरू नेपाल छन् र त कुरा बिग्रन्छ । अनि यो क्वात्रेले प्रचण्डलाई राती भेटेको कुरा गर्ने न दलाल वुद्विजिवि निस्किए, न दलाल पत्रकार निस्किए । ओलिले सामन्त गोयल भेटे भनेर रूँदै हिडने ती भारतले पालेका कुकुर नेता, पत्रकार , कथित बुद्विजिवि अहिले कहाँ गए ? मोदीको घरको ट्वाईलेट सफा गर्न गए कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर