५४ दिनमा ओली र प्रचण्डबीच १८ चोटि ‘वान टु वान’ भेट: जनताका मुद्दा होइन, राजनीतिक भागबन्डाकै ‘डिबेट’ – Nepal Press

५४ दिनमा ओली र प्रचण्डबीच १८ चोटि ‘वान टु वान’ भेट: जनताका मुद्दा होइन, राजनीतिक भागबन्डाकै ‘डिबेट’

काठमाडौं । नेकपाकालमा अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको वेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने गर्थे, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ ।’

पार्टीभित्रको विवाद र ‘पावर शेयरिङ’ को विषयमा सहमतिअनुसार अघि बढ्न ओलीलाई घच्घच्याउन त्यसवेला प्रचण्ड बालुवाटार धाउँथे । अहिले भने परिस्थिति ठ्याक्कै उल्टिएको छ ।

पाँचदलीय गठबन्धन भत्काएर प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओली अहिले दिन बिराएर बालुवाटार धाइरहेका छन् । प्रचण्डसँग सहकार्य थालेको साढे एक महिनामै गठबन्धनमा खटपट आएपछि उनको बालुवाटार परिक्रमा झन् बाक्लिएको छ ।

गठबन्धन निर्माण हुँदा सरकारको साँचो ओलीको हातमा थियो । प्रचण्ड उनका ‘कठपुतली’ जस्ता थिए । तर, जब कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दियो, त्यसपछि गठबन्धनभित्रको माहोल फेरियो । प्रचण्ड एकाएक शक्तिशाली बने । अब दबाबमा ओली छन् । कम्तिमा राष्ट्रपतिको चुनावसम्म उनी प्रचण्डसँग सम्बन्ध बिगार्न चाहँदैनन् ।

प्रचण्डसँगको यसअघिको सहकार्य ओलीका लागि सुखद भएन । एउटै पार्टीको नेतृत्व गरेर प्रचण्ड र ओली लामो समय तिक्ततामा बिताए । आन्तरिक विवाद बढ्दै जाँदा आफूमाथि प्रचण्ड-माधवलगायतले विभिन्न आरोप लगाएसँगै ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यसपछि ओली र प्रचण्डको सहकार्यमा ब्रेक लाग्यो र दुई नेताहरु एकअर्काविरुद्ध चर्को आरोप-प्रत्यारोपमा उत्रिए । अहिले फेरि सत्तास्वार्थकै कारण उनीहरु एउटै डुंगामा सवार छन् ।

गत आमनिर्वाचनपछि ‘पूर्वसहमतिअनुसार’ कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन नमानेको भन्दै ओली बालकोटको शरणमा पुगे । पुस १० गते नै नयाँ गठबन्धन निर्माण भयो र प्रचण्ड प्रधानमन्त्री बने । त्यसवेला प्रधानमन्त्री बन्न एमालेसँग गरेको सम्झौतामा अहिले उनी प्रतिबद्ध देखिँदैनन् । बरु गठबन्धन फुटाउने बहाना खोजिरहेका छन् । सम्भवतः राष्ट्रपति निर्वाचन उनका निम्ति ‘शुभमुहूर्त’ हुन सक्छ ।

असमझदारीकै बीच ओली-प्रचण्डको कहिले बालुवाटार त कहिले बालकोटमा निरन्तर भेटघाट भइरहेको छ । तर, जति बाक्लो भेट भए पनि उनीहरुको सम्बन्धमा बहार आउन सकेको छैन । यद्यपि नेताहरूले बाहिर आए जस्तो कुनै समस्या नभएको जिकिर गर्दै आइरहेका छन् ।

पुस १० पछि प्रचण्ड र ओलीबीच १८ पटक वान टु वान वार्ता भइसकेको छ । बिहीबारमात्र यी दुई नेताबीच करिब २ घण्टा भेटघाट भयो ।

नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि पुस १० यता ओली १२ पटक बालुवाटार धाएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र र गठबन्धनको बैठकबाहेकका भेटघाट हुन् यी । यी दुई शीर्ष नेताबीचका कुनै पनि भेटघाट जनसरोकार वा राष्ट्रका ज्वलन्त समस्यासँग सम्बन्धित छैनन् । केवल राजनीतिक मुद्दा नै भेटघाटको विषयवस्तु बन्दै आएको छ । पछिल्लो समयका भेटघाटहरु रास्वपालाई सरकारमा फर्काउने, राष्ट्रपतिबारे पुरानो सहमति पालना गर्नेलगायत विषयमा केन्द्रित छन् । देशको आर्थिक संकट निवारण गर्ने, जनतालाई सहुलियत दिने, वैदेशिक मामलाहरुलाई सल्टाउने जस्ता विषयमा छलफल भएको कहिल्यै सुनिएको छैन ।

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै ओली एकपटक खुमलटार र बिहीबार सिंहदरबार नै पुगेर प्रचण्डसँग ‘वान टु वान’ वार्ता गरे । यहीबीचमा प्रचण्ड पुस १० यता ३ पटक बालकोट धाए । प्रचण्ड सहमतिविपरीत राष्ट्रपतिको निर्वाचनमा कांग्रेसतिर ढल्कने आशंकाले ओली निरन्तरजसो भेटमा जोडिरहेका छन् ।

दुई नेताबीच पटक-पटक संवाद भएपछि अझै गठबन्धनमा विश्वासको वातावरण बन्न सकेको छैन । गठबन्धनमा विश्वासको वातावरण बनाउन दुई नेताको भेटघाट बाक्लिएको छ ।

पहिलेका प्रचण्ड, अहिलेका ओली

यसअघि ओली प्रधानमन्त्रीबाट हट्दा संसदमा लामो सम्बोधन गर्दै प्रचण्डप्रति गुनासो पोखेका थिए । उनले अरुणा लामाको गीत ‘पोहोर साल खुशी फाट्यो…’ उद्धृत गर्दै भनेका थिए, ‘ममाथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ । मन फाटेको, चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणले रहेछ । मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनिए झैं धेरै पटक सिउने कोसिस गरें । मैले एक र सामूहिक रूपमा पनि कहिले साँझ, कहिले अबेलासम्म रात, कहिले बिहान, कहिले दिन, धेरै पटक मन तुन्ने काममा बिताएको छु ।’

उनले प्रचण्डको मन जति तुनेर पठाए पनि सफल नभएको गुनासो गरेका थिए । भनेका थिए, ‘आज तुनेर पठाउँछु जोडेर भोलिपल्ट बिहान आउँदा अर्कापट्टि फाँटेको छ । फेरि तुनेर पठायो अर्को दिन आउँदा अर्कोपट्टि फाटेको छ । यसपछि सहकार्य गर्ने साथीहरूलाई यसका अनुभव पनि काम लाग्ला ।’

अहिले परिस्थिति बदलिएको छ र प्रचण्डको नियतिमा ओली आफैं पुगेका छन् । उनीहरुबीच अविश्वास बढ्दा कांग्रेस सत्तामा फर्किने दाउ हेरेर बसेको छ । प्रचण्डले पनि ‘अप्ठेरा ओली’ लाई छोडेर देउवासँग मिल्न एउटा खुट्टा उचालिसकेका छन् । एमालेसँग भएको सहमतिविपरीत कांग्रेसलाई राष्ट्रपति दिन उनी तयार भएको बताइन्छ । प्रचण्डको पछिल्लो दोगला चरित्रले एमाले भयभित बन्दै गएको छ ।

कहिले कहाँ भेटे ?

फागुन ४ – ओली बालुवाटार

माघ २७ – ओली सिंहदबार

माघ २५ – प्रचण्ड बालकोट

माघ २४ – ओली बालुवाटार

माघ २१ – ओली बालुवाटार

माघ १८ – ओली बालुवाटार

माघ १२ – ओली बालुवाटार

माघ १० – ओली बालुवाटार

माघ २ – प्रचण्ड बालकोट

पुस ३० – ओली बालुवाटार

पुस २८ – ओली बालुवाटार

पुस २७ – प्रचण्ड बालकोट

पुस २४ – ओली बालुवाटार

पुस २० – ओली बालुवाटार

पुस १९ – ओली बालुवाटार

पुस १५ – ओली बालुवाटार

पुस १३ – ओली खुमलटार

पुस १० – प्रचण्ड बालकोट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर