सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी गरिँदै – Nepal Press

सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी गरिँदै

काठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत् भण्डारीलाई एयर एम्बुलेन्समा लैजान लागिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा एयर एम्बुलेन्समा लैजान सम्पूर्ण तयारी पूरा भएको छ । उनलाई अस्पतालबाट विमानस्थलतर्फ लैजान लागिएको छ ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेटमा उपचारको क्रममा निधन भएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता, शुभेच्छुकलगायत अस्पताल पुगेका छन् । उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग भण्डारीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *