चन्द्र भण्डारी र आमाको अवस्था जटिल, कीर्तिपुर अस्पताल भन्छ- सहज उपचारका लागि देशबाहिर लैजानुपर्छ


काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको अवस्था जटिल देखिएको अस्पतालले जनाएको छ ।
गएराति सिलिण्डर विस्फोटमा परी घाइते भएका भण्डारी र आमाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
राति साढे १० बजे अस्पताल पुगेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
अहिले दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालले उनीहरूको उपचारका लागि नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग र आमाको जीउको अधिकांश करिब ७० प्रतिशत भाग जलेको छ ।
परिवारका सदस्यका अनुसार बुधवार राति भान्सा कोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।