अखिल महासचिवमा पेचिलो प्रतिस्पर्धा, इन्चार्ज भन्छन्- पाँचैजना उम्मेदवार पार्टीका लागि बराबर – Nepal Press

अखिल महासचिवमा पेचिलो प्रतिस्पर्धा, इन्चार्ज भन्छन्- पाँचैजना उम्मेदवार पार्टीका लागि बराबर

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेबाट हुने भनिएको मतदान प्रक्रिया लम्बिएको छ । उम्मेदवारहरूको अन्तिम नामावलीमा केही उजुरी समेत परेका कारण अन्य प्राविधिक पक्ष मिलाउँदा दिउँसो मात्र मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

यसपटक अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुँदैछ । नयाँ नेतृत्वका लागि १५८८ मतदाता कायम भएको अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलले जानकारी दिए । अखिलको इतिहासमा उद्घाटनसत्र अघि नै प्रतिनिधि टुंगो लागेको यसैपटक हो ।

विद्यार्थी इन्चार्ज ढुंगेल एक सातादेखि सोही काममा थिए । सर्वसम्मतिको प्रयास सफल नभएपछि स्वस्थ प्रतिस्पर्धा गर्न दिइएको उनले बताए । ढुंगेलले सबै उम्मेदवार पार्टीका लागि समान भएको भन्दै कुनै पनि उम्मेदवार पार्टीको आधिकारिक वा सरकारी नभएको बताए ।

अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला,मोति विक र वाङछु योन्जनले उम्मेदवारी दिएका छन् । कुनै पनि उम्मेदवारले प्यानल बनाउन नपाउने ढुंगेलले बताए । सबै उम्मेदवार व्यक्तिगत प्रतिस्पर्धामा रहने उनको भनाइ छ ।

अखिलको अध्यक्षपछि मुख्य कार्यकारी पद मानिने महासचिवमा पनि पाँचै जना प्रतिस्पर्धामा छन् । महासचिवको प्रतिस्पर्धा अध्यक्षभन्दा पेचिलो र रोचक बन्ने प्रतिनिधिहरूले बताएका छन् ।

महासचिवको प्रतिस्पर्धामा नरेश रोकाय, सुदर्शन सिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्य छन् । यीमध्ये कल्पना र उमेश उपाध्यक्षबाट महासचिवको प्रतिस्पर्धामा ओर्लिएका हुन् ।

नरेश, सुदर्शन र भाष्कर उपमहासचिवबाट महासचिवको प्रतिस्पर्धामा आएका हुन् । नरेश बाजुराका जुझारु युवा नेता हुन् । उनलाई पृथ्वीनारायण क्याम्पस पोखरामा हुँदा तत्कालीन माओवादी कार्यकर्ताले २०६६ सालमा हत्या प्रयास गरी सेती नदीमा फालेका थिए ।

नरेश देशभरी नेटवर्क भएका उम्मेदवार हुन् । त्यस्तै यसअघि नविना लामा अध्यक्ष भएकै बेला संगठन विभाग प्रमुख बनेका सुदर्शन सिवाकोटी पनि प्रभावशाली उम्मेदवार हुन् । भाष्कर खनाल प्रदेश १ का उदीयमान नेता हुन् भने कल्पना र उमेश पनि अखिलमा लोकप्रिय नेता हुन् ।

महासचिवका उम्मेदवार सबै उम्दा भएका कारण पनि नेताहरू संकटमा परेका छन् । कुनै एक उम्मेदवारको पक्षमा उभिने अवस्था नभएकाले महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्न छुट दिइएको एक नेताले बताए । अहिलेको महासचिव भावी अध्यक्ष मानिने भएकाले पनि महासचिवको प्रतिस्पर्धालाई महत्त्वपूर्ण मानिएको छ ।

रोकायले संगठनमा एसम्यान होइन एक्सनम्यान रोजौं भन्ने नारा अघि सारेका छन् । त्यस्तै शिवाकोटीले विद्यार्थी आन्दोलनलाई उत्पादनसँग र देशको सुगम भविष्यतर्फ डोहोर्याउन आफ्नो उम्मेदवारी भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर