बुटवल उपमहानगरले मनायो ६४औं स्थापना दिवस – Nepal Press

बुटवल उपमहानगरले मनायो ६४औं स्थापना दिवस

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

वुधबार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्न तर्फ लाग्नुपर्ने बताए ।

उनले संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्ने बताए । ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ’, उनले भने, ‘यस्तो अवस्था मुलुकमा आउन नदिन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामुहिक प्रयास गर्नुपर्ने देखिन्छ ।’ उनले जनप्रतिनिधिहरु सुविधाभोगी हुन नहुने भन्दै मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताउँदै संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा शहर बनाउने योजनाका साथ अगाडि बढेको र ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको धारणा राखे ।

स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको थियो । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६-२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९-२०२३), परीक्षितप्रसाद लाकौल (२०२४-२०२६), सरस्वतीप्रसाद शेरचन (२०२६-२०२८, २०३३-२०३६), हरिबहादुर सिंह (२०२८), सूर्यलाल (२०३०), बृजमान श्रेष्ठ (२०३६-२०३९) प्रधानपञ्च रहे ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९-२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४-२०५९) नगर प्रमुख बनेका थिए भने सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनीत भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख रहे भने २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *