धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह – Nepal Press

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गरेका छन् ।

वुधबारदेखि नवलपुरमा सुरु भएको सातौं नवलपुर महोत्सव २०७९ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, ‘लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रुपमा उत्पादन हुन सकेन । अब बिलम्ब नगरी यसको सञ्चालनको जिम्मा लिई क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौं । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं ।’

उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना संचालनका कार्यक्रमहरु राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल संचालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सुचकहरु सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे ।

‘कोभिडको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै अर्थतन्त्रमा समस्या देखिएको थियो । धेरै उद्योग व्यवसाय बन्द भएका थिए । हामी कहाँ विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानी योग्य पूँजीको अभाव भयो । तर, अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदैछन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्रमा सुधार आउँछ । अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ’, उनले भने ।

नवलपुर जिल्ला कृषि, पर्यटन र औद्योगिक गतिविधिका लागि महत्वपूर्ण रहेको बताउँदै आफू यस क्षेत्रको विकास र समुन्नतिका लागि यहाँका स्थानीय व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

‘यो जिल्ला भारतसँग सिमाना जोडिएको र धेरै क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । आउनुस्, तपाईं हामी व्यवसायिक गतिविधिमा सहकार्य गरेर अगाडि बढौ । यहाँका व्यवसायी साथीहरुले कुनै प्रस्ताव ल्याउनुभयो भने त्यसमा म व्यक्तिगतहरुपमा सहकार्य गर्न तयार छु’, उनले भने ।

आफू एउटा बैंकर भएको नाताले हरेक ठाउँमा जाँदा व्यवसायीहरुले बैंकसँग सम्बन्धित प्रश्नहरु उठाउने गरेको बताउँदै उनले निक्षेपको ब्याजदर बढ्दा कर्जाको व्याजदर पनि स्वतः बढेको बताए ।

‘कोभिड महामारीका कारण विश्व अर्थतन्त्र मै समस्या देखिएको छ । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि लगानी योग्य पूँजीको अभाव रह्यो । दुई तीन प्रतिशतको हाराहारीमा रहेको निक्षेपको ब्याजदर ८/१० प्रतिशतमा पुगेको छ । यसले नै बैंकको लागत बढाई कर्जाको व्याज बढाएको हो । तर यसमा पनि क्रमश सुधार हुँदैछ । महासंघको तर्फबाट हामीले गरेको निरन्तर पैरवीका कारण नियामक निकायबाट केही विषयहरु सम्बोधन भएका छन्’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर