बैंक खाता खोल्ने विषयमै किन भयो मधेस प्रदेशसभामा लफडा ? – Nepal Press

बैंक खाता खोल्ने विषयमै किन भयो मधेस प्रदेशसभामा लफडा ?

जनकपुरधाम । मधेस प्रदेशसभा सचिवालयले एनएमबी बैंकमा खाता खोल्न सांसदहरुलाई परिपत्र गरेपछि प्रदेशसभा बैठकमा लफडा भएको बुझिएको छ ।

प्रदेशसभा सचिवालयले केही दिनअगाडि सांसदरुलाई एभरेष्ट बैंकमा खाता खोल्न सबै सांसदलाई मोबाइलमा म्यासेज गरेको थियो । तर, बुधबार अचानक सचिवालयले एनएमबी बैंकमा खाता खोलाउन परिपत्र गर्‍यो । सो विषयमा नेपाली कांग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका हुन् । कांग्रेसका सांसदहरुले आफू अनुकूल बैंक खाता खोल्न पाउनुपर्ने माग राखेका छन् ।

स्रोतका अनुसार एनएमबी बैंकका कर्मचारीहरुले प्रदेश सभामुख रामचन्द्र मण्डलसँग छलफल गरेका थिए । त्यसबारे थाहा पाएका कांग्रेसका सांसदहरुले मेगा बैंकका कर्मचारीहरुलाई बोलाए । तर, मेगा बैंकका कर्मचारीलाई मर्यादापालकहरुले कांग्रेस संसदीय दलको कार्यालयमै छिर्न दिएनन् ।

त्यसपछि आक्रोशित कांग्रेस सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विरोध जनाएका थिए । कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बैठक अवरुद्ध पारे । उनले गेष्टलाई मर्यादा पालक लगाएर रोकेकोमा आपत्ति जनाए । उनले गेष्टलाई रोकेको विषयमा सभामुखलाई जवाफ दिन माग गरे ।

सभामुख मण्डलले सुरुमा कांग्रेसका सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, नमानेपछि आक्रोशित हुँदै उनले गेष्टलाई अराजक व्यक्तिको संज्ञा दिए । उनले प्रश्न गरे, ‘बम लिएर प्रदेशसभा परिसरमा प्रवेश गर्न आउनेलाई के गर्ने ?’

सभामुखको प्रश्नमा कांग्रेसकी सांसद जीवछी यादवले प्रतिप्रश्न गरिन्, ‘सभामुख जस्तो व्यक्तिले संसदमा बमको कुरा गर्दा अशोभनीय भएन र ?’

लगत्तै कांग्रेस सांसद रामसरोज यादवले पनि सभामुखको मर्यादामाथि प्रश्न गरेपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको थियो ।

कांग्रेस साँसदहरुले संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले आफू अनुकूल बैंकमा सांसदहरुले खाता खोल्न पाउने सहमति गरेको एक सांसदले बताए । उनले भने, ‘हरेक काममा कमिसनको कुरा हुन्छ । बैंक खाता खोल्ने विषयमा पनि कमिसनको गन्ध आएपछि बाध्य भएर निर्णय सच्याउन लगायौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर