प्रधानमन्त्रीले क्वात्रा भेटेपछि भीम रावलको प्रश्न- कर्मचारी तहको व्यक्तिसँग गोप्य वार्ता के हुन्छ ? – Nepal Press

प्रधानमन्त्रीले क्वात्रा भेटेपछि भीम रावलको प्रश्न- कर्मचारी तहको व्यक्तिसँग गोप्य वार्ता के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकपछि अर्को विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमणबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

‘कुनै देशको कर्मचारी तहको व्यक्तिले प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ ?’, उनले प्रश्न गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा एकपछि अर्को विदेशी नेता र उच्च पदस्थ कर्मचारीहरुको भ्रमण भइरहेको छ । ती भ्रमणमा नेपाल सरकारको वार्ताको कार्यसूची के हो र वार्ताको परिणाम के भयो, कतै पारदर्शी छैन । अझ विदेशी सरकारका कर्मचारी तहका व्यक्तिले राजनीतिक दलका नेताहरुसँग पालैपालो भेटवार्ता गरेको समाचार आयो ।’

सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेशसचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु भेटेपछि नेता रावलले प्रश्न उठाएका हुन् ।

‘कुनै देशको कर्मचारी तहको व्यक्तिको भ्रमणमा देशका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने तथा प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरिसकेपछि फेरि लामो गोप्य वार्ता गर्ने संसारको कुनै स्वाधीन र सार्वभौम देशमा चलन छ कि ? कसैले मलाई उदाहरण देखाइदिए कृतज्ञ हुने थिएँ’, उनले भनेका छन् ।

मित्र राष्ट्रका उच्च तहका व्यक्तिले देशमा गर्ने भ्रमण दुई पक्षका बीचमा रहेका समस्या समाधानउन्मुख भएमात्रै सार्थक हुने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘पारस्परिक सम्मान, समानतार लाभमा आधारित सम्बन्ध सुमधुर बन्न योगदान पुग्छ भने राम्रो हो । त्यसको विपरीत देशको स्वाधीनता र सम्मानमा प्रतिकूल प्रभाव पर्छ भने उक्त प्रकारका भ्रमण सुखद नभई प्रत्युत्पादक हुन्छन् । चेतना भया ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *