अमेरिकामा दर्जन मुद्दा खेपिरहेका थापा पनि रास्वपा केन्द्रीय सदस्य – Nepal Press

अमेरिकामा दर्जन मुद्दा खेपिरहेका थापा पनि रास्वपा केन्द्रीय सदस्य

काठमाडौं । फागुन १ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पुरानो २४ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ४० पुर्‍यायो । थपिएका १६ जनामा छैटौं नम्बरमा थिए मोहनबहादुर थापा । म्याग्दी ठेगानाको भनेर उनको थपिने कारणको विवरणमा भनिएको छ, ‘पार्टी स्थापनादेखि आबद्ध र पार्टीको आन्तरिक व्यवस्थापनमा योगदान’ ।

रास्वपाले म्याग्दी ठेगाना दिइएका थापा अमेरिकाका हुन् । उनी अमेरिकाको बाल्टिमोर राज्यमा बस्छन् । बाल्टिमोरको नोटिङघाम सहरको कोटिङटोन उनको ठेगाना हो ।

उनले अमेरिकामा पटकपटक मुद्दा खेपेका छन् । अमेरिकी सरकारको वेबसाइटमा प्राप्त तथ्यांकअनुसार उनले हालसम्म ५१ वटा मुद्दा खेपेका छन् । सन् २००३ मा उनले नक्कली आईडी कार्ड बनाएको स्वीकार गरेका थिए । थापाले मेरिल्याण्ड मोटर भेहिकल एडमिनिस्ट्रेसनका पदाधिकारीहरुसँगको मिलेमतोमा नक्कली आईडी कार्ड दिनेदेखि फेल भएकाहरुलाई पास बनाएर लाइसेन्स दिनेसम्मको धन्धा चलाएको आरोप छ । जसमा उनी दोषी करार गरिएका थिए ।

सबैभन्दा पछिल्लो समयमा थापालाई गत डिसेम्बर १२ (मंसिर २६) मा अर्को मुद्दा परेको थियो । यातना दिइएको भन्दै सिन्थिया एल इन्दियाकेजले उनलाई मुद्दा हालेकी थिइन् । यातना दिइएको भन्दै परेको मुद्दा बाल्टिमोरको जिल्ला अदालतमा विचाराधीन छ । ०१०१००२१२८३२०२२ नम्बरको सो मुद्दाको आगामी तारिख मार्च ५ (फागुन २१) बिहान ८ः४५ मा रहेको छ ।

अमेरिकामा तारकातार तारिख र मुद्दा खेपिरहेका थापालाई केन्द्रीय सदस्य बनाएको दलका प्रवक्ता मुकुल ढकालले भने पार्टीको विधानअनुसार नैतिक पतन हुने खालको मुद्दामा दोषी देखिएको नपाइएकाले सदस्य बन्न असर नपर्ने बताए । सन् २००३ मा थापाले नक्कली आईडी कार्ड दुरुपयोग स्वीकार गरेको तथ्यको प्रसंगमा ढकालले आफूलाई त्यस्तो जानकारी नभएको बताए ।

‘अमेरिकामा व्यापार व्यवसाय गर्दा धेरै मुद्दा मामिलाहरु हुन्छन् । मुद्दा परेको भन्दैमा उहाँ दोषी नहुन सक्नुहुन्छ’, ढकालले भने, ‘उहाँले ग्रिनकार्ड छोड्नुभएको कुरा छ ।’

बाल्टिमोरमा रहेका एक नेपालीले भने थापाको अमेरिकी नागरिकता भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर