नेपाल नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता – Nepal Press

नेपाल नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता

काठमाडौं । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।प्रदेश नम्बर १ र मधेश प्रदेशमा रहेका आम नागरिकलाई गुणस्तरिय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाकाबीचमा सम्झौता गरिएको जनाइएको छ ।

सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने बताइएको छ ।

सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष डा।चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका हुन ।

दुई संस्थाबीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।

हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर