दुर्गा प्रसाईँको महाअभियानले राप्रपालाई चस्का, पूर्वराजा खासमा कस्का ? – Nepal Press

दुर्गा प्रसाईँको महाअभियानले राप्रपालाई चस्का, पूर्वराजा खासमा कस्का ?

प्रवक्ता श्रेष्ठ भन्छन्- राजपरिवारलाई साक्षी राखेर राप्रपालाई गाली गरिनु दुर्भाग्यपूर्ण

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजपरिवारलाई नै उतारेर तामझामका साथ ‘महाअभियान’ घोषणा गरेपछि देशको सबैभन्दा ठूलो राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी तरंगित बनेको छ । पूर्वराजालाई साक्षी राख्दै राप्रपालाई आरोपित गरिएको भन्दै सो पार्टीका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

प्रसाईँले अस्ति मेची पुलमा गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा लगायत उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रसाईँले राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना समर्थक र कार्यकर्ताहरुलाई यो भेलामा नजान उर्दी जारी गरेको आरोप लगाए । यस्तै अर्का वक्ता केशरबहादुर विष्टले पनि प्रसाईँको भेलपछि राप्रपाका नेता अब कसरी मुख देखाउँछन् भन्ने प्रश्न गरे ।

स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष लिङदेनको सम्बन्ध चिसिएको छ । पूर्वराजाले उनलाई सरकारमा अहिले नजान र सडकबाटै राजसंस्था फर्काउने माहोल बनाउन सुझाव दिएका थिए । राप्रपासँग दुखी बनेका ज्ञानेन्द्र प्रसाईँको कार्यक्रममा परिवारका सदस्यहरूसहित उपस्थित भए । यसलाई राप्रपा नेताहरूले त्यति रुचाएका छैनन् ।

राप्रपाका एक उपल्लो क्रमका नेताले विचार र अडानको टुंगो नभएका व्यक्तिले महाअभियानका नाममा सुरु गरेका फन्डामा आकर्षित हुनु पूर्वराजाको भुल भएको बताए ।

‘उहाँ हिजो प्रचण्डको भक्त हुनुहुन्थ्यो । त्यसपछि केपी ओलीको भक्त हुनुभयो । अहिले फेरि राजाको भक्त हुन थाल्नुभएको छ । यस्ता ठेगान नभएका व्यक्तिको पछि लागेर पूर्वराजाले ठीक गर्नुभएन । सौताको रिसले केजाति भनेजस्तो भयो,’ उनले भने ।

त्यसो त प्रसाईँले खुलेर आफूलाई राजसंस्थाको पक्षमा उभ्याएका पनि छैनन् । उनले वैदिक सनातन राष्ट्रको स्थापना, संघीयता खारेजी, व्यवसायिक वातावरण बनाउनुपर्ने लगायत एजेन्डा अघि सारेका छन् । अस्तिको कार्यक्रममा उनी देशका वाणिज्य बैंक र लघुवित्तहरूमाथि खनिएका थिए । उनले बैंक लघुवित्तका सञ्चालकहरूलाई भेटेमा कालोमोसो दल्न अराजक निर्देशन समेत दिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईँको अभियान मूलतः व्यवसायिक विषयसँग सम्बन्धित रहेको बताउँछन् । उनले राजसंस्थाको नाम बेचेर आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्न खोजिएको हो भने त्यो गलत हुने टिप्पणी गरे ।

‘उहाँले स्पष्टरुपमा राजसंस्थाको वकालत गर्नुभएको छैन । हिन्दूराष्ट्र र राजसंस्था भन्दा पनि बैंक र व्याजदरका कुराहरूमा उहाँको बढी रुचि देखिन्छ,’ श्रेष्ठले भने, ‘राजाले कहाँ जान हुने र नहुने हामीले भन्ने कुरा होइन । तर, वक्ताहरूले राप्रपालक्षित जुन अभिव्यक्ति दिए त्यो आपत्तिजनक छ ।’

उनले दुर्गा प्रसाईँको कार्यक्रममा राप्रपाका समर्थक र कार्यकर्ता उपस्थित हुनु अस्वभाविक नभएको बताए ।

‘राजपरिवार नै उपस्थित रहेको कार्यक्रममा राजसंस्थाको अनुयायी पार्टीका नेता कार्यकर्ता उपस्थित हुनु स्वभाविक हो । हामीले त्यहाँ नजान पनि भनेका थिएनौँ, जान पनि भनेका थिएनौँ,’ श्रेष्ठले भने ।

देशमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा निरन्तर आवाज उठाइरहेको एक मात्र शक्ति भनेको राप्रपा मात्रै रहेको उनी बताउँछन् ।

‘सडकदेखि संसदमा राजसंस्थाको पक्षमा आवाज उठाउने शक्तिलाई राजाकै सामुन्नेमा लाञ्छित गर्नु दुर्भाग्यपूर्ण हो । राप्रपालाई गाली गरेर राजसंस्था पुनर्स्थापना हुने होइन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर