नामिबियाविरुद्धको शानदार जितमा नेपाली खेलाडीले बनाए यी कीर्तिमान – Nepal Press

नामिबियाविरुद्धको शानदार जितमा नेपाली खेलाडीले बनाए यी कीर्तिमान

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आज भएको म्याचमा नामिबियाविरुद्ध नेपालले शानदार जित हात पार्‍यो । २८६ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउने क्रममा नेपाली टीम र खेलाडीले थुप्रै राष्ट्रिय किर्तिमान बनाएका छन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले २८५ रनको स्कोर खडा गर्दा नेपालका लागि दुरुह हुन सक्ने ठानिएको थियो । परम्परागतरुपमै ब्याटिङमा कमजोर नेपालले अहिलेसम्म यति ठूलो लक्ष्य भेट्टाएको इतिहास थिएन । तर, ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले शानदार शतक बनाउँदै नेपाललाई अविस्मरणीय जिततर्फ डोहोर्‍याए । कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतक बनाएर कुशललाई साथ दिएका थिए ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म चेज गरेको सबैभन्दा ठूलो स्कोर २५५ रन हो । सन् २०१९ को जनवरीमा दुबईमा यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले भेट्टाएको थियो । नेपालले दोस्रो इनिङमो बनाएको सबैभन्दा ठूलो स्कोर चाहीँ २ सय ८६ रन हो । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ८६ रन बनाएको थियो ।

आजको म्याचमा कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि एक सय ३३ रनको साझेदारी गरे । नेपालले ओडीआइमा कुनै पनि विकेटका लागि गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्यूगिनीविरुद्ध सन् २०२२ मार्च २६ मा सर्वाधिक १२९ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । उनले ३३ म्याच खेल्ने क्रममा एक शतक र ६ अर्धसतक बनाउँदै एक हजारको कोशेढुंगा पार गरेका हुन् । रोहितको कुल रन एक हजार १७ पुगेको छ । नामिबियाविरुद्ध उनी ७२ रन जोडेर आउट भए । रोहितपछि सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा ज्ञानेन्द्र मल्ल ७ सय ३४ रनसहित दोस्रो स्थानमा छन् ।

कुशल भुर्तेल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने तेस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले मात्र यस्तो सफलता हात पारेका थिए । नामिबियाविरुद्ध कुशलले एक सय १५ रन बनाए ।

कुशल ओडीआइमा शतक बनाउने चौथो नेपाली ब्याट्सम्यान हुन् । रोहित पौडेलले पनि यसअघि ओडीआइ शतक बनाएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल, दीपेन्द्र, पारसबाहेक ज्ञानेन्द्र मल्लले पनि शतक बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर