यातायात मजदुर ‘पर्ख र हेर’ को अवस्थामा : कार्यदलको प्रतिवेदनसम्म कुर्ने – Nepal Press

यातायात मजदुर ‘पर्ख र हेर’ को अवस्थामा : कार्यदलको प्रतिवेदनसम्म कुर्ने

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प पारेका यातायात मजदुरले मन्त्रालयसँगको सहमतिपछि बन्द फिर्ता लिएका छन् ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा सरकारी र मजदुर नेताबीच मन्त्रालयमा वार्ता भएको थियो । वार्तापछि ५ बुँदे सहमति भएको छ ।

यसअघि फागुन ४ गतेदेखि सार्वजनिक यातायात बन्दको चेतावनी दिँदै सरकारलाई दिएको अल्टिमेटम भने अझै कायमै छ । हाललाई मजदुरहरूले फागुन ११ सम्मलाई आन्दोलन स्थगित गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले फागुन ११ गतेसम्मका लागि यातायात मजदुरको सबै प्रकारका आन्दोल, बन्द र विरोधका कार्यक्रम फिर्ता भएको बताए ।

उनले भने, ‘आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएको छलफल र ५ बुँदे सहमतिपछि हामीले फागुल ४ गतेदेखि गर्ने भनेको आन्दोलनको कार्यक्रम फिर्ता लिएका छौं । हाम्रो माग पूरा भएन भने हामी पुन: फागुन ११ गतेदेखि आन्दोलन नै गर्ने छौं ।’

यातायात व्यवस्था विभागको महानिर्देशक तुलसीनाथ गौतमको संयोजनमा यातायात मजदुरको माग सम्बोधन गर्न १३ सदस्यीय कार्यदल गठन भएको छ । त्यो कार्यदलले फागुन ८ गते सरकारलाई प्रतिवेदन तयार पारेर बुझाउनेछ । कार्यदलमा यातायात मजदुरका प्रतिनिधि, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रतिनिधि पनि छन् ।

कार्यदलले बुझाएको प्रतिवेदनअनुसार काम हुने देखिए आन्दोलन नगर्ने मजदुर नेताले बताए ।

यसभन्दा पहिले पनि यातायात क्षेत्र सुधारका लागि यातायात मजदुरहरूको संयुक्त संघ/संगठनले सरकारलाई १५ दिने अल्टिमेटम दिएका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले पनि ११ गतेसम्मका लागि आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिइएको बताए ।

उनले भने, ‘अध्ययनसहित प्रतिवेदनका लागि कार्यदल बनेको छ । समितिले ८ गते सरकारलाई हाम्रो समस्याको बारेमा प्रतिवेदन तयार पारेर दिन्छ । सरकारले तयार भएको प्रतिवेदन अनुसार काम गर्यो भने हामी आन्दोलन गर्दैनौं । हाम्रो माग सम्बोधन भएन भने पुनः आन्दोलन गर्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर