कप्तान रोहितले ‘क्याच ड्रप’ गरेपछि चम्कँदै शतकीय यात्रा तय गरेका भान लिंगेन – Nepal Press

कप्तान रोहितले ‘क्याच ड्रप’ गरेपछि चम्कँदै शतकीय यात्रा तय गरेका भान लिंगेन

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा मंगलबार उत्रिएको नेपाली टोलीले नामिबियाबाट फराकिलो लक्ष्य पाएको छ । टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभर खेल्दै नेपाललाई २८६ रनको लक्ष्य दियो ।

४५ रन जोड्दा दुई विकेट गुमाएको नामिबियालाई माइकल भान लिंगेन र कप्तान जर्हार्ड इरासमले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । सुरुको २५ ओभरमा २ विकेट गुमाएर ९३ रनमात्र जोडेको नामिबियाले बाँकी अर्को २५ ओभरमा १९२ रन थपेको थियो ।

अन्तिम दुई ओभरमा करन केसी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए । तर, त्यसअघि नै नेपाललाई इरासमस र भान लिंगेनले निराश बनाइसककेका थिए ।

भान लिंगेन १३३ रन जोडेर ४८औं ‌ओभरको अन्तिम बलमा करन केसीबाट आउट भए । उनले १३७ बलमा ५ छक्का र ९ चौका प्रहार गरे । उनलाई गतिलो साथ दिएका कप्तान इरासमसले ७९ बलमा तीन छक्का र २ चौका प्रहार गर्दै ५६ रन बनाए ।

सुरुको ५ ओभरमा १३ रनमात्र खर्चिएका सन्दीपले आफ्नो बाँकी ५ ओभरमा ५३ रन दिए ।

आक्रामक ब्याटिङ गरेका लिंगेनले ५५ रन जोड्दा जीवनदान पाएका थिए । २६औं ओभरको अन्तिम बलमा उनी नेपालका कप्तान रोहित पौडेलबाट ‘क्याच ड्रप’ भएका थिए ।

कुशल मल्लको बलिङमा लिंगेनले गरेको प्रहार मिड विकेटमा रहेका रोहितको हातबाट फुत्किएको थियो । त्यतिवेला नामिबिया २ विकेट गुमाएर ९७ रनमा खेलिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर