लुम्बिनीमा ७ मन्त्रीले लिए शपथ, एक महिनापछि सरकारले पायो पूर्णता – Nepal Press

लुम्बिनीमा ७ मन्त्रीले लिए शपथ, एक महिनापछि सरकारले पायो पूर्णता

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त ७ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई आइतबार शपथ खुवाएका हुन् ।

दिउँसो १ बजे प्रदेशसभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावाहुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला शपथ गराइएको थियो ।

योसँगै लुम्बिनीमा एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लीला गिरीले माघ २८ मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रीहरूको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए । यसअघि विनाविभागीय रहेका दुईजना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ ।

एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादीबाट ३ र राप्रपा तथा जनमतबाट एकएक जना गरी १० जनाको मन्त्रिमण्डल बनाइएको छ ।

माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला, इन्द्रजीत थारु भौतिक पूर्वाधार विकास र कृष्णा केसीले आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि केसीले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएकी थिइन् । मन्त्रालय भागबन्डा गर्दा उनी असन्तुष्ट रहेको र त्यसकै कारण विनाविभागीय मन्त्रीबाट राजीनामा दिएको प्रचार गरिए पनि त्यसलाई गुपचुपमै मिलाइएको छ ।

एमालेबाट विष्णु पन्थीले स्वास्थ्य, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण र तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्रीको शपथ लिएका छन् । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तैगरी जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर