जापानलाई धेरै श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो, चीनलाई उछिन्दै भियतनाम पहिलो – Nepal Press

जापानलाई धेरै श्रमिक उपलब्ध गराउने मुलुकमा नेपाल चौथो, चीनलाई उछिन्दै भियतनाम पहिलो

टोकियो । जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने विदेशी मुलुकमा भियतनाम पहिलो नम्बरमा परेको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ लाख २२ हजार ७२५ कुल विदेशी कामदारमध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदार जापानमा कार्यरत छन् ।

२५.४ प्रतिशत श्रमिकसहित भियतनाम जापानको श्रम बजारमा पहिलो नम्बरमा आउँदा चीन ३ लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत श्रमिकसहित दोस्रो स्थानमा छ ।

२ लाख ६ हजार ५० अर्थात् ११.३ प्रतिशत श्रमिकसहित फिलिपिन्स तेस्रो नम्बरमा हुँदा १ लाख १८ हजार १९६ अर्थात् ६.५ प्रतिशत श्रमिकसहित नेपाल चौथो नम्बरमा छ । जापानलाई सबैभन्दा थोरै कामदार उपलब्ध गराउने देशमा पेरु छ । उसका ३१ हजार २६३ अर्थात् १.७ प्रतिशत नागरिक जापानी श्रम बजारमा श्रम गरिरहेका छन् ।

माथि उल्लेखित तथ्याङ्कमा पार्टटाइम काम गर्नेहरुको संख्यासमेत समावेश गरिएको श्रम मन्त्रालयले जनाएको छ । भिसा स्टाटसका आधारमा हेर्दा पीआर, जापानी नागरिकसँग बिहे गरेका, पीआरवालाका परिवारहरु जापानको श्रमबजारमा सबैभन्दा धेरै संख्यामा छन् । उनीहरुको संख्या ५ लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

वोर्किङ्ग भिसामा ४ लाख ७९ हजार ९४९, विशिष्ट गतिविधि (टोकुतेइ खाचुदोउ) ७३ हजार ३६३ (४.५), ट्रेनिङ भिसामा ३ लाख ४३ हजार २५४ (१८.८५), स्टाटस बेगरका गतिविधि (सिखाकु गाइखाचुदोऊ) ३ लाख ३० हजार ९१० (१८.२५) रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सिखाकु गाइखाचुदोऊ भनेको सामान्य भाषामा बुझ्दा विद्यार्थी वा डिपेनडेण्टहरुले पाउने २८ घण्टा काम गर्ने अनुमति भनेर बुझ्दा हुन्छ । यो स्टाटसमा काम गर्ने सबैभन्दा धेरै ३९.६ प्रतिशत नेपाली विद्यार्थीहरु छन् ।

क्षेत्रअनुसार तथ्याङ्कको विश्लेषण गर्दा टोकियोमा करिब ८० हजारको हाराहारीमा विदेशीहरुले श्रम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । टोकियो नजिक रहेका साइतामा, चिबा, खानागावासँगै आइची, फुकुओका प्रिफेक्चर र ओसाका क्षेत्रबाहेकका अरु प्रिफेक्चरहरुमा विदेशी श्रमिकहरुको संख्या ५ हजारभन्दा तल छ ।

सबैभन्दा धेरै कुल विदेशी श्रमिक संख्याको १८.६ प्रतिशतले खरिद बिक्रीसँग सम्बन्धित साना कम्पनीहरुमा र १७.७ विदेशी श्रमिकहरुले उत्पादनशील कम्पनीमा काम गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर