राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री लिङदेन (भिडिओ) – Nepal Press

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री लिङदेन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् । शनिवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङदेनले चौतर्फी रूपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरूले नै भन्ने गरेको बताएका हुन् ।

उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरूले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए ।

उनले विद्यार्थीहरू राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुन्डा उत्पादन, हुल्लर अनुशासनहीन उत्पादन गर्ने संगठन नभई देशभक्त उत्पादन गर्ने संगठन भएको बताए ।

उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे ।

मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरूलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरू स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।

उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन विश्वविद्यालयका प्राध्यापकहरूलाई कालो मोसो दल्ने र ताल्चा लगाउने संगठन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर