हिउँदे वर्षा भएन, खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह


काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।
विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औषत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरुको सुरक्षामा जोड दिनुपर्ने बताए । उनले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिएपनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको बताए ।
हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकोले सरकारले समयमा नै विपद पूर्व सूचना र विपद पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने,वायु प्रदुषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको छ । विज्ञ डा. उप्रेतीले सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै उनले हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताए ।
उनले भने,’ कृषि प्रणालीमा कमजोर भयो भनेपछि भोकमरीको समस्या, हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको थियो तर काठमाडौंतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भयो भने त्यसले खाद्यान्न उत्पादन कम भयो, खाद्य सुरक्षाका लागि राज्यले जोहो गर्नुपर्ने पक्ष के हो भने नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा शतर्कता अपनाउन आवश्यक छ । सिंचाई प्रणालीमा सुधार गर्नुपर्ने अवस्था छ ।’
विपद् विज्ञ उप्रेतीले फागुन १६ गतेसम्म पनि ठूलो वर्षा हुने कुनै सम्भावना नरहेको बताए ।