गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः सल्टिएन समस्या, उडानको भाका पुनः सर्‍याे – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः सल्टिएन समस्या, उडानको भाका पुनः सर्‍याे

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु रोकिएको दुई महिना पुग्न थाल्यो । खराब मौसम अर्थात हुस्सुको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प रहेको छ ।

यहाँबाट सेवा सुरु गरेर जजिरा र हिमालय एयरलाइन्सले अहिले सेवा रोकेका हुन् । ८ महिनाअघि जेठ दुई गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेसँगै कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

कार्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले १६ डिसेम्बरदेखि उडान रोकेको छ भने जजिराले मौसमको कारण देखाउँदै गत २१ डिसेम्बरदेखि आफ्नो उडान रोकेको हो ।

पछिल्लोपटक विमानस्थल व्यवस्थापनले फेब्रुअरी २ तारिखदेखि जजिराले उडान शुरु गर्ने आश्वासन दिएको जानकारी गराएको थियो । तर उक्त भाका पनि एक हप्ता नाघिसक्यो तर पनि उडान सुचारु भएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल फुलफेजमा सञ्चालन नहुँदै उडान रोकिएकाले महिनाको ३० लाखसम्म विमानस्थल घाटा लागेको छ ।

अन्तर्राष्ट्रिय उडान नहुँदा घरेलु विमानस्थलको आम्दानीले खर्च व्यवस्थापन गर्नुपरेको छ । अहिले मौसम सफा भइसकेको पनि यात्रु र अन्य कारणले एयरलायन्सहरूले उडानका लागि इच्छा देखाएका छैनन् । विमानस्थलका प्रवक्ता सुवास झा प्राविधिक उपकरण सञ्चालन नहुँदा पनि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको बताउँछन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ । तर भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा पनि विमानस्थलको प्रयोगमा एयरलायन्सहरूको अरुचि बढेको जानकारहरु बताउँछन् । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन । आइएलएस उपकरण संचालनका लागि भारतको स्वीकृति लिनुपर्ने र भारतले अनुमति नदिएसम्म उक्त उपकरणको औपचारिक रुपमा प्रयोग गर्न नमिल्ने प्रवक्ता झाको भनाइ छ ।

भैरहवा तथा यस आसपासको भिजिबिलिटी २०० मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ । विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो ।

माघ २२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थल अवलोकन गर्दै अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने बिषय उठेकाले यसबारे तत्काल पहल थाल्ने बताएका थिए । तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने उनले बताएपनि व्यवसायीहरु उनको भनाइप्रति विश्वस्त छैनन् ।

मन्त्री भएपछि पहिलोपटक विमानस्थल आएका उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसंग रूटका लागि प्रधानमन्त्री प्रचण्डको भारतीय भ्रमणमा हवाई रूटको एजेन्डा राख्ने प्रतिवद्धता भने जनाएका छन् । निजी क्षेत्रले विदेशी एअरलाइन्सले बन्द गरेपनि नेपाल एअरलाइन्सले उडान नियमित गरेमा संचालनको वातावरण सहज हुने बताउँदै आएका छन् ।

आईएलएस एक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । अरू बेला १ हजार ५०० मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा ८०० मिटरसम्मको भिजिबिलिटीमा पनि जहाजहरु अवतरण गराउन सकिने प्रवक्ता झाले बताए ।

विमानस्थलमा अवतरण प्रणाली रहे पनि यो पनि उपयोगमा आउन सकेको छैन । यसको प्रयोगमा पनि भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकाले भारतको स्वीकृति आवश्यक पर्ने उनले बताए ।‘हवाई रुट प्रयोग गर्ने अनुमतिका लागि सरकारको उच्चस्तरीय तहबाट संवाद गरेर निकास निकाल्नुपर्नेछ, अन्तारष्ट्रिय उडान ठप्प हुंदा विमानस्थल व्यवस्थापनमाथि चौतर्फी दवाव र आलोचना बढेको छ तर हाम्रो तहबाट मात्रै केही हुंदैन’ झाले भने ।

‘हामी निरन्तर कम्युनिकेसनमा छौं,अब मार्च पहिलो सातासम्म चल्छ कि भन्ने छ, जजिराले फेब्रुअरी २ तारिखबाट उडान सुचारु गर्ने भन्ने थियो, तर अझै पनि चलाउन नसक्ने खबर गरेका छन्’ उनले भने ।

लुम्बिनीमा पर्यटक आउने सिजनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिंदा पर्यटन व्यवसायीहरु चिन्तित छन् । लुम्बिनीमा अक्टोबरदेखि मार्चसम्म पर्यटकहरू बढी आउने समय हो । ‘सिजनको बेला अन्तर्राष्ट्रिय उडान नभएपछि पर्यटनमा ठूलो असर परेको छ’–लुम्बिनी होटेल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने–‘सरकारको गौरवको आयोजनामा दई महिना हुन लाग्दा अन्तर्राष्ट्रिय उडान ठप्प हुंदा सरकारले कुनै चासो दिएकै छैन ।’

विमानस्थललाई पछ्याउँदै पर्यटन लगायतका विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायी र स्थानीय यो विमानस्थलको भविष्य के हुने भन्नेमा अन्यौल रहेको पर्यटन व्यवसायीको भनाइ रहेको छ । गत शनिबार भैरहवामा आएका अर्थमन्त्री बिष्णु पौडेलले भने गौतम बु्द्ध अन्तर्राष्ट्रिय विमानस्थलका वारेमा केही समस्या भएपनि छिटै समाधान हुने र पूर्ण क्षमतामा संचालन गरिने बताएका छन् ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका जे जति समस्या छन् यस वारेमा सम्पूर्ण सरोकारवाला निकाय बसेर राउण्डटेवलमा छलफल गरी को–कसले कुन–कुन काम गर्ने ? भन्ने वारेमा छिट्टै छलफल गर्दैछौं’ उनले भनेका थिए–‘यसबाट निरास हुनुपर्ने छैन, यो विमानस्थल पूर्ण क्षमतामा संचालन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *