विवेकशील साझाको महाधिवेशन आजदेखि, रवि लामिछानेदेखि सीके राउतसम्मले सम्बोधन गर्ने – Nepal Press

विवेकशील साझाको महाधिवेशन आजदेखि, रवि लामिछानेदेखि सीके राउतसम्मले सम्बोधन गर्ने

काठमाडौं। बिभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरू हुँदैछ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरुलाई निम्ता गरिएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

एमालेलाई पनि निम्ता गरिएको भए पनि को आउने भन्ने निधो भएको छैन ।विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने उद्घाटन समारोहमा बोलाएको छैन । उनी वरिष्ठ उपाध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निम्ता नगरिएको बुझिएको छ ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर