टर्कीको भूकम्पले भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त – Nepal Press

टर्कीको भूकम्पले भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

उद्दार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं । नेकपा एमालेले सोमबार टर्की र सिरियामा गएको भूकम्पबाट १५ हजार बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै ७.८ म्याग्निच्युडको भूकम्प र वुधबार दिउँसोसम्म गएका ३१२ पराकम्पनबाट भएको क्षति भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले मेडिकल रेस्पोन्स टीमसहित लत्ताकपडा र आवश्यक राहत सामग्री पठाउने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

त्यस्तै, उनले भूकम्प प्रभावितहरुको उद्दार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

‘यस महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आम नागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज—उद्दार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर