माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने – Nepal Press

माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील) र उपाध्यक्ष तिलक मगर सहभागी थिए ।

वार्तामा दुई पार्टीको एकताका बैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ ।

बुढाथोकी र मगर दुबै माओवादीको तर्फबाट संविधानसभा सदस्य थिए । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समूहमा थिए । पछि किराँतीले वैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए । पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए ।

देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुति, ऋषि कट्टेलसमेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले विचार मिल्ने वाम दलहरूबीच एकताका लागि वार्ता समिति नै बनाएको थियो । समितिले धेरै घटकहरूबीच औपचारिक–अनौपचारिक एकता वार्ता सम्पन्न गरिसकेको छ ।

उपाध्यक्ष महराको संयोजकत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर