विवेकशील साझाको महाधिवेशनमा रवि लामिछानेदेखि सीके राउतसम्मले सम्बोधन गर्ने, रवीन्द्र मिश्र र राप्रपालाई डाकिएन – Nepal Press

विवेकशील साझाको महाधिवेशनमा रवि लामिछानेदेखि सीके राउतसम्मले सम्बोधन गर्ने, रवीन्द्र मिश्र र राप्रपालाई डाकिएन

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । दुई दिन चल्ने महाधिवेशनको तयारी लगभग सकिएको अध्यक्ष समीक्षा बास्कोटाले बताइन् ।

महाधिवेशनको प्रक्रिया सुरु गर्दै पार्टीले नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । विभिन्न आरोह अवरोहबाट गुज्रिएको पार्टीलाई महाधिवेशनले नयाँ गति दिने विश्वास नेताहरुले लिएका छन् । तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज अघि सारेदेखि पार्टीमा किचलो बढेको थियो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरुलाई निम्ता गरिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

एमालेलाई पनि निम्ता गरिएको भए पनि को आउने भन्ने निधो भएको छैन ।

विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने उद्घाटन समारोहमा बोलाएको छैन । उनी वरिष्ठ उपाध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निम्ता नगरिएको बुझिएको छ ।

विवेकशील साझाको मिलन पाण्डे समूहको मिश्रसँग गहिरो तिक्तता छ । मिश्र अध्यक्ष हुँदा पाण्डेसहित २६ जनालाई पार्टीबाट निष्काशन गरिएको थियो । ‘प्रतिगामी एजेन्डा’ बोकेर हिँडेको हुँदा राप्रपाबाट कसैलाई पनि निम्ता नगरिएको एक नेताले बताए ।

महाधिवेशन आयोजक समिति संयोजक बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र आफूहरुको अगुवाइमा सुरु भएको वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताइन् ।

पार्टीका नेता मिलन पाण्डेले महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए ।

पार्टीकी अर्की नेत्री रञ्जु दर्शनाले विवेकशील साझा पार्टी विवेकशील अभियानको रुपमा जन्मिएकाले यसले उठाइरहेका नवीन राजनीतिक मुद्दाहरु सडकबाटै उठाउने र त्यसको लागि सक्षम शक्ति बनाउने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर