घर पुर्‍याइदिन्छु भन्दै गल्लीमा पुर्‍याएर लुटपाट, पीडित मृत फेला – Nepal Press

घर पुर्‍याइदिन्छु भन्दै गल्लीमा पुर्‍याएर लुटपाट, पीडित मृत फेला

काठमाडौं । काठमाडौंको गौशालामा मंगलबार बिहान मृत भेटिएका व्यक्तिको हत्या भएको प्रहरीले दाबी गरेको छ । मोरङको सुन्दर हरेंचाका ३२ वर्षीय रामबहादुर थापा हत्या आरोपमा पक्राउ परेका हुन् । मृतक पर्साको वीरगञ्ज- १५ स्थायी घर भई टोखा नगरपालिका- ३ बस्दै आएका ५७ वर्षीय ध्रुवबहादुर खड्का रहेका छन् ।

अनुसन्धानका क्रममा खड्कालाई एक व्यक्तिले ट्याक्सीबाट ओरालेर कुटपिट गरेको र साथमा रहेको मोबाइल, नगदलगायत लुटेको प्रहरीको दाबी छ। सीसीटीभी फुटेजका आधारमा थापाको पहिचान भएको प्रहरीले जनाएको हो ।

‘हाम्रा लागि मृतकको पहिचान र हत्याराको खोजी दुवै चुनौतीको विषय थियो’, काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले भने ।

प्रहरीका अनुसार थापा लागुऔषध कारोबारी हुन् । उनी साइकलमा चढेर गाँजा बिक्री गर्दै हिँड्ने गरेको पाइएको छ । ‘त्यस दिन पैसा भए जस्तो देखिने मान्छे झोक्राएर बसेको देखेपछि थापाले सहयोग गर्छु भन्दै ट्याक्सीमा चढाएका रहेछन्’, एसएसपी कार्कीले भने, ‘ती व्यक्तिलाई लुटपाट र कुटपिट गरेपछि पनि थापा राति दुईपटक साइकलमा त्यस ठाउँमा आएका थिए ।’

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । मृतक खड्का बीमा संस्थानका पूर्वकर्मचारी हुन् ।

अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार बत्तीसपुतलीमा पार्टीमा आएका खड्का अत्यधिक मदिरा सेवनपछि हिँड्नै नसक्ने अवस्थामा द्वारिका होटल नजिकै झोक्राएर बसिरहेका थिए । साइकलमा आएका थापाले खड्कालाई उद्धार गर्ने बहानामा ट्याक्सीमा राखेर करिब ७-८ सय मिटर पर लगेर लुटेका थिए ।

‘ट्याक्सीबाट निकालेर थापालाई सडक किनारको भित्तामा बजारेको देखिन्छ । त्यसपछि लगातार छातीमा लात्ती प्रहार भएको पाइएको छ’, ती अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *