बिहान साढे पाँज बजे एयरपोर्ट पुगे मन्त्री किराती, मजदुरहरूलाई भने- क्रमिक सुधारका लागि धन्यवाद – Nepal Press

बिहान साढे पाँज बजे एयरपोर्ट पुगे मन्त्री किराती, मजदुरहरूलाई भने- क्रमिक सुधारका लागि धन्यवाद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गरेका हुन् ।

विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताएका छन् ।

उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गरेका छन् ।

कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाइ छ ।

सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए । उनले भने, ‘यहाँ भएका सुधारहरू मेरा लागि होइनन् । तपाईँहरूको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरिदका लागि बोलपत्र आह्वान पनि गरिएको छ ।

बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर