माओवादीमा अग्नि र पम्फा उपाध्यक्षमा मनोनीत


काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दुईजनालाई मनोनीत गरेको छ ।
हालै सम्पन्न स्थायी समिति बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाएको महासचिव देव गुरुङले नेपाल प्रेसलाई जानकारी दिए । पम्फा यसअघि उपमहासचिव थिइन् ।
माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा पार्टीमा अब तीनजना उपाध्यक्ष भएका छन् ।
स्थायी समितिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समिति पनि टुंग्याएको छ ।
जस अनुसार पदाधिकारी २२, स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६, वैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनेको बताइएको छ ।
योसँगै माओवादीमा २२ सदस्यीय पदाधिकारी भएको छन् । सापकोटा र भुसाललाई महराको पछाडि वरियता रहनेगरी उपाध्यक्ष मनोनीत गरिएको हो ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।
महासचिवमा यसअघि नै देव गुरुङ चयन भइसकेका छन् भने उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृका यादव रहेका छन् ।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, डिलाराज आचार्य, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे र राम कार्की छन् । भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।