खेलाडीले पाएनन् कर्णाली सरकारबाट घोषित पुरस्कार – Nepal Press

खेलाडीले पाएनन् कर्णाली सरकारबाट घोषित पुरस्कार

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वर्ष पुस १८ गते विभिन्न प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रदेश खेलकुद परिषद्को बैठकले खेलाडीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने सिफारिस गरेको थियो ।

पूर्वमुख्यमन्त्री तथा तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाही नेतृत्वको क्याविनेटको अन्तिम बैठकले खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो ।

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई कर्णालीले २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

त्यस्तै राष्ट्रिय प्रतियोगितामा रजत पदक विजेतालाई एक लाख ५० हजार, काँस्य पदक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

तर, निर्णय भएको चार महिना हुन लाग्दासमेत खेलाडीहरुले पुरस्कार पाउन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनार भन्छन्, ‘पहिला तयारी थिएन, बजेटको व्यवस्थापन पनि थिएन । खेलाडीलाई के कस्तो पुरस्कारको व्यवस्था गर्ने केही तयारी नभएको हुँदा ढिलाइ भएको हो ।’

नवौं राष्ट्रिय खेलकुदमा एकल कातामा काँस्य र ४५ किलोग्राम कुमितेमा कास्य पदक जितेकी एलिसा रास्कोटी मगर प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने निर्णय गर्दा खुशी भएको बताइन् । तर, पुरस्कार हात नलाग्दा निराश भएको उनले बताइन् ।

नवौं राष्ट्रिय खेलकुदमै नान छ्वान अलराण्डरमा स्वर्ण पदक जितेका दीपक हमाल सरकारले दिने भनेको पुरस्कार समयमै दिएको भए राम्रो हुने बताउँछन् ।

‘प्रदेश सरकारले गरेको निर्णयले खेलाडीहरूको हौसला त बढेको छ । तर, चार महिना बितिसक्दा पनि पुरस्कार पाउन सकेको छैनौं’, उनले भने ।

अघिल्लो सरकारले घोषणा गरेको पुरस्कार फागुनको अन्तिम सातासम्म दिइने सामाजिक विकासमन्त्री टेकराज पछाईले जानकारी दिए ।

खेलाडीलाई पुरस्कार दिन बजेट व्यवस्थापन भइरहेको सचिव सुनारले बताए ।

कर्णालीमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई अवसर र चुनौती दुवै थपेको सचिव सुनारको भनाइ छ ।

पुरस्कार विजेताको विवरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर