पुस १० गते एमालेले हामीलाई छक्यायो, गठबन्धन जोगाउन नसकेकोमा माफी माग्नुपर्छ: गगन थापा (भिडियो) – Nepal Press

पुस १० गते एमालेले हामीलाई छक्यायो, गठबन्धन जोगाउन नसकेकोमा माफी माग्नुपर्छ: गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन टुटेकोप्रति जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनअघि तालमेल गरेर गएर त्यसलाई जोगाउने संस्कार हामीकहाँ छैन । त्यो अभ्यास र अनुभव हामीकहाँ छैन । कुनै आग्रह र पूर्वाग्रहको कुरा होइन हामीकहाँ त्यो संस्कार छैन । गर्न हुँदैन भन्ने मत मेरो थियो । अहिले पनि त्यही भन्छु, २०७४ मा एमाले र माओवादीको गठबन्धनबाट हामीले पाठ सिक्नुपर्ने थियो ।’

उनले चुनावमा गठबन्धन गरेर जनताको मत हाल्ने अधिकारलाई समेत सीमित गरेको बताए । अहिले चुनावअघिको गठबन्धन जोगाउन नसकेको विषयमा पार्टीमा आरोपप्रत्यारोप रहेको उनको भनाइ छ ।

नेता थापाले भने, ‘प्रधानमन्त्री को हुने त हाम्रो कुरा हो । तर, लाखौं जनतालाई गठबन्धनको भारी बोलाएर अहिले जोगाउन नसकेपछि हामीले आत्मालोचना गरेर जनतासँग क्षमा माग्नुपर्छ । हामीले हाम्रो निर्णय गलत थियो भन्नुपर्‍यो ।’

गठबन्धन टुटेपछि उठेको प्रश्नको उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले पुस १० गते एमालेले कांग्रेसलाई ३ बजे तयार भएर बस्नु हस्ताक्षर लिएर आउछौं भनेकोसमेत बताए ।

उनले भने, ‘हामी १ बजेपछि एमाले आउँछ भनेर दंग परेर बसेका हौं । माओवादी साथीहरुलाई पनि एमालेले कांग्रेस छाडेर आउनुस् दिन्छौं भनेकै हो । उहाँहरु ढुक्क भएर जानुभयो । एमालेले त्यो दिन छट्टु काम गरेकै हो । हामी झुक्कियौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर