नेताहरुको हानथापले बागमतीमा एकीकृत समाजवादीले छान्न सकेन संसदीय दलको नेता – Nepal Press

नेताहरुको हानथापले बागमतीमा एकीकृत समाजवादीले छान्न सकेन संसदीय दलको नेता

हेटौंडा । बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादीले अझै पनि संसदीय दलको नेता छान्न सकेको छैन् । संसदीय दलको नेतामा दुईजनाले दाबी गरेका छन् । बागमतीमा उसका सातजना सांसद रहेका छन् ।

दलको नेतमा चितवनबाट निर्वाचित कृष्णप्रसाद शर्मा खनाल र भक्तपुरबाट विजयी डा. राजेन्द्रमान श्रेष्ठले दाबी गरेका छन् । यी दुई नेताबीच सहमति नजुटेपछि संसदीय दलको नेताको टुंगो नलागेको नेकपा एसका सांसदहरु बताउँछन् ।

‘हामीभित्र केही समस्या छ । सो समस्या समाधान गरेर दलको नेता चयन गर्न खोजेका छौं’, प्रदेश सांसद खनालले नेपाल प्रेसलाई भने, ‘तर त्यो समस्या समाधान हुन सकेको छैन । यही समस्या कायम रह्यो भने यो कार्यकालभर दलको नेता चयन नहुन पनि सक्छ ।’

दलको नेताको लागि डा श्रेष्ठले दाबी नछाडेपछि खनालले सो प्रतिक्रिया दिएका हुन् । यसअघि पनि आफूले कुशलतापूर्वक दलको नेताको जिम्मेवारी पूरा गरेको भन्दै यो पटक पनि आफ्नो दाबी स्वभाविक रहेको उनको तर्क छ ।

एकीकृत समाजवादीककै अर्का प्रदेश सांसद लक्ष्मण लम्सालले दलको नेता छान्ने विषयमा सहमति जुट्नै लागेको बताए । ‘दुई जना प्रतिस्पर्धी मिलेमा समस्या समाधान भैहाल्थ्यो । तर, उहाँहरु नमिल्दा ढिलो हुँदै गएको छ’, उनले भने ।

दलको नेता नहुँदा एकीकृत समाजवादीबाट बैठकको विभिन्न विषयमा कसले धारणा राख्ने भन्ने विषयमा समेत समस्या हुने गरेको एकीकृत समाजवादीका सांसदहरुको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर