स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीले दिए राजीनामा


काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् ।
आफ्नै व्यक्तिगत कारणले राजिनामा दिएको उप्रेतीले नेपाल प्रेससँग बताए । उनका अनुसार मन्त्री गिरीले उनलाई अनुभवी व्यक्ति भएको भन्दै राजीनामा नदिन आग्रह गरेका थिए । उनको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पूर्व स्वास्थ्य सचिवसमेत रहेका उप्रेतीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
उप्रेतीले व्यक्तिगत अस्वस्थताका कारण राजीनामा दिएको बताए पनि सहज र गुणस्तरीय सेवा दिन नसक्दा ५ वर्षभित्र ३ करोड नागरिकलाई समेट्ने महत्त्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी हुन नसकेका कारण राजीनामा दिएको बोर्ड स्रोतले जनाएको छ ।
विसं २०७२ सालदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलोको कारण असफलको बाटोमा गएको उप्रेतीको बुझाई रहेको उनका निकटतस्थले बताए ।