गोपालप्रसाद रिजाल नायब महान्यायधिवक्तामा बढुवा – Nepal Press

गोपालप्रसाद रिजाल नायब महान्यायधिवक्तामा बढुवा

काठमाडौं । सरकारले नायब महान्यायधिवक्तामा गोपालप्रसाद रिजाललाई बढुवा गरेको छ । न्याय सेवा आयोगको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधिवक्ता रिजाललाई नायब महान्यायाधिवक्तामा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहेको ५ सदस्यीय न्याय सेवा आयोगको बैठकले वरिष्ठताका आधारमा रिजालको एकल नाम बढुवाका लागि सिफारिस गरेको थियो । महान्यायधिवक्ताको कार्यालयका नायब महान्याधिवक्ता कृष्णजीवि घिमिरे ५ वर्षे सेवा अवधि पूरा गरेका कारण माघ १८ गतेदेखि अनिवार्य अवकाशमा गएपछि नायब महान्याधिवक्ताको एक पद रिक्त रहेको थियो ।

न्याय सेवा अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिव सरह ५ जनाको दरबन्दी रहेको छ । जसमा ४ जनाको महान्याधिवक्ताको कार्यालयमा नायब महान्याधिवक्ताको रुपमा दरबन्दी रहेको छ भने एक जनाको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सचिवको दरबन्दी रहेको छ ।

राजपत्रांकित विशिष्ट श्रेणीका ५ जनामध्ये पद्‍मप्रसाद पाण्डेय २०८० असोजमा अनिवार्य अवकाशमा जाने भएकाले वरिष्ठताका आधारमा सहन्यायधिवक्ता सञ्जिवराज रेग्मी नायब महान्याधिवक्तामा बढुवा हुनेछन् । यद्यपी यो ८ महिनाको अवधिमा कुनै राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी न्यायाधीश नियुक्तिका लागि सिफारिस भएमा भने बीचमै पनि पद रिक्त भएर बढुवा प्रक्रिया अघि बढ्न सक्नेछ ।

भर्खरै सम्पन्न सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन २०७९ मा बढुवा भएका महान्याधिवक्ता रिजाल सहन्यायाधिवक्ता हुँदा सर्वोत्कृष्ट सरकारी वकिल घोषित भएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *