भारतीयको अपहरणमा परेका शनिमाथि निर्घात कुटपिटको भिडिओ सार्वजनिक – Nepal Press

भारतीयको अपहरणमा परेका शनिमाथि निर्घात कुटपिटको भिडिओ सार्वजनिक

जनकपुरधाम । रौतहटका एक युवकलाई हातखुट्टा बाँधेर फिल्मी शैलीमा यातना दिइरहेको भिडियो सार्वजनिक भएको छ । भिडिओमा युवकको मुखमा सेतो टेपले बाँधेको छ । हात र खुट्टा भने डोरीले बाँडिएको छ । ४५ सेकेन्डको उक्त भिडिओमा ती युवक रोइरहेको देखिन्छ । भिडिओमा अन्य कोही व्यक्ति देखिँदैनन् ।

बन्धक बनाइएका ती युवक रौतहटको बसतपुर गडहियाका देवेन्द्र यादवका छोरा शनि यादव भएको स्थानीय पत्रकार धर्मेन्द्र कुमारले बताए । उनका अनुसार पैसाको लेनदेन विवादका कारण भारत विहार राज्यमा पर्ने बैरगनियाँका सतिस जयसवालले शनिलाई अपहरण गरेका छन् ।

शनिलाई अपहरण गरी सतिसलगायतले भारत लगेको र यातना दिइरहेको बताइएको छ । तर यसको पुष्टि भने भइसकेको छैन । भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सोधखोज सुरु गरेको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले शनिलाई बन्धक बनाएको जस्तो भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म पीडित परिवार सम्पर्कमा आएका छैनन् । हामीले नै सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’ भारतीय प्रहरीसँग पनि सम्पर्क गरेर घटना विषयमा थप कुरा बुझ्ने प्रयासमा लागेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *