परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता – Nepal Press

परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छन् ।

आज मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको हो ।

यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । भेटवार्तमा पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरिन् ।

समान्था पावरले युएसएआइडीकी १९औं प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी थिइन् । उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन् ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर