सडकमा आधुनिक बत्ती जोड्न महानगर र प्राधिकरणबीच सहमति – Nepal Press

सडकमा आधुनिक बत्ती जोड्न महानगर र प्राधिकरणबीच सहमति

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

यस अघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बिच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडक बत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर