३४ वर्षमा व्रतबन्ध- पुष्प खड्काको लाज, सकस र खुसी – Nepal Press

३४ वर्षमा व्रतबन्ध- पुष्प खड्काको लाज, सकस र खुसी

कपाल खौरिन नमान्दा पण्डितको आपत्ति

काठमाडौं । गत माघ १२ गते नायक पुष्प खड्कालाई दिदीबहिनीले ‘हल्दी’ लगाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । धेरैले उनलाई विवाह गर्न लागेको भन्दै बधाई दिन सुरू गरे ।

नेपाली सिनेमाका एउटा चर्चित हिरोको विवाह मिडियाका लागि गरम मसला बन्ने भइहाल्यो । तर, त्यसअघिसम्म पुष्पले विवाह गर्न लागेको चर्चा कतै सुनिएको थिएन । एउटा फोटोको भरमा समाचार लेख्ने कुरा पनि आएन । त्यसैले उनलाई नै फोन गरियो । निकैपटकको प्रयासपछि उनले फोन उठाए ।

‘विवाह होइन, व्रतबन्ध हो,’ उनले सुरूमै प्रष्ट्याए ।

विवाहभन्दा अगाडि समारोह नै गरेर बेहुला-बेहुलीलाई मेहेन्दी लगाइदिने भारतीय संस्कार नेपालमा अहिले झांगिएको छ । तर, व्रतबन्धमा दिदीबहिनीले हल्दी लगाइदिने चलन चाहीँ पहिल्यैदेखि थियो । आफ्नो पुर्ख्यौली घर कैलालीमा पुगेर व्रतबन्ध गरेका पुष्पले पनि यही संस्कार गरेका थिए, जसलाई सबैले मेहेन्दीका रूपमा बुझे ।

तर, उमेरले ३४ वर्षमा हिँडिरहेका पुष्पले भर्खरै व्रतबन्ध गर्नु आफैंमा रोचक कुरा थियो । हामीकहाँ प्रायले ९-१० वर्षदेखि १४-१५ वर्षको उमेरमा व्रतबन्ध गरिसकेका हुन्छन् । बिहे गर्ने उमेरमा व्रतबन्ध किन त ?

उनले विभिन्न कारणले समयमै व्रतबन्ध गर्न नभ्याएको बताए । अब चाँडै विवाह गर्नुपर्ने भएकाले त्यसका लागि बाटो खुलाउन व्रतबन्ध गरेको उनको भनाइ छ । विवाहपूर्व व्रतबन्ध गरेकै हुनुपर्ने हाम्रो सामाजिक संस्कार छ ।

‘व्रतबन्ध गर्ने नै भनेरै चाहीँ घर गएको थिइनँ । घरमा एउटा पूजा राखिएको थियो । त्यही पूजाकै बेला समय उचित भएर व्रतबन्ध गर्ने कुरा भयो,’ उनले सुनाए, ‘योभन्दा अगाडि माहोल मिलेन भनौँ वा समय जुरेन, व्रतबन्ध गर्नै पाइएन । म स्कुल पढ्दा बुबा इन्डिया बस्नुहुन्थ्यो । त्यसपछि पनि कहीले कता कहिले कता पुगेर व्रतबन्ध भएन ।’ उनले आफ्नो मात्र नभएर अष्ट्रेलिया पुगिसकेको आफ्नो भाईको पनि अहिलेसम्म व्रतबन्ध नभएको खुलाए ।

ढिला व्रतबन्ध गरेकाले गुपचुप गरौँ भन्ने उनको मनसाय थियो । तर एकाएक तस्विर बाहिरिएपछि उनलाई म्यासेजको वर्षा भइहाल्यो ।

‘विवाह हुँदा पनि हामीलाई बोलाएन भने कसैले । कोही पार्टी छैन ? भनेर सोध्छन् । कोही गाउँ किन गयो भनेको त बल्ल थाहा भयो भन्छन् । म्यासेजहरू देखेर म आफैं अचम्ममा परेँ,’ पुष्पले सुनाए ।

त्यसो त यो उमेरमा व्रतबन्ध गर्नुपर्दा पुष्पलाई कम्ता लाज लागेको थिएन । थोरै अप्ठ्यारो, थोरै लाज, थोरै उत्साह अनि थोरै भावनात्मक समय भए पनि समग्रमा आफूलाई समारोह रमाइलो लागेका खड्का बताउँछन् ।

‘लाज त लागिहाल्छ नि । तर हामी कलाकार भएको र अभिनय गर्ने भएकाले, यही लाजमा पनि इन्जोइ गरेँ,’ उनले भने ।

व्रतबन्ध समारोहहरूमा त्यति सामेल नभएका पुष्प व्रतबन्धमा गर्नुपर्ने प्रक्रियाबारे पनि अनभिज्ञ थिए । सबै विधिमा रमाइरहेका उनी त्यतिबेला लाजले रातो भए जब उनले आमाको दुध खानुपर्ने बेला आयो ।

‘ब्रतबन्ध गर्दा आमाको दुध खानुपर्दो रहेछ । मलाई यसबारे केही पत्तो थिएन । त्यो विधि गर्दा भने अति अप्ठ्यारो र लाज लागेको थियो,’ उनी सुनाउँछन् ।

उनले त्यो क्षण सम्झँदै मुस्कुराउँदै भने, ‘यताउता विधि सकेर लुगा फेरिसकेपछि आमाको दूध खानुपर्ने रहेछ । म त विवाहमा मात्र यस्तो हुन्छ भन्ने सुनेको थिएँ । त्यो क्षण चाहीँ म अलिक भावुक पनि भएँ, लाज पनि लाग्यो । एकजनाले मलाई काँधमा चढाइरहनुभएको थियो । मेरो हाईटसम्म पुग्न मम्मी टेबलमा चढिरहनुभएको थियो ।’

सबै भावनाहरूको मिश्रण रहेको उक्त समारोहमा आफन्तको खुसी र रौनकले आफूलाई छुट्टै आनन्द दिएको उनको अनुभव छ । रमाइलो माहोले गर्दा आफूलाई लागेको लाज पनि हराएको उनले वार्तालापको क्रममा सुनाए ।

उनले व्रतबन्ध सकिएपछि केही तस्विरहरू आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । तर, तस्बिर पोष्ट भएसँगै उनलाई अर्को प्रश्नले घेरा हाल्यो- व्रतबन्ध गरेको मान्छेले कपाल किन नखौरिएको ?

हो पनि । ब्रतवन्ध गर्दा कपाल खौरिनैपर्ने संस्कार छ । तर, पुष्पले कपाल खौरिएका थिएनन् । चाँडै चलचित्रको छायांकनमा फर्किनुपर्ने भएकाले कपाल नखौरिएको उनको भनाइ छ । अलिअलि पछाडिको भाग खौरिएर उनले विधि पुर्‍याएका थिए ।

‘म, धर्म, परम्परा, संस्कृति एकदमै मान्ने मान्छे हो । एक-दुई दिन बाहिरी संस्कृतिमा भिजियो भन्दैमा आफ्नो संस्कृति नै बिर्सिन्नँ । धर्म मान्नुपर्छ भन्ने लाग्छ । तर समय, परिस्थिति अलिकति नमिलेकाले गर्दा कपाल पुरै खौरिन भने सकिन,’ दु:खी हुँदै उनले आफ्ना गुनासो राखे ।

कपाल खौरिनैपर्छ भनेर परिवारको कति दबाब थियो भन्ने प्रश्नमा हास्ँदै उत्तर दिए, ‘व्रतबन्धलगत्तै सुट थियो, त्यसैले घरबाट पनि दबाब दिनुभएन । पण्डितबाट भने गाली नै खाइयो ।’

‘मेरो व्रतबन्धमा दुईजना पण्डित हुनुहुन्थ्यो । ब्लेड लगाउने बेला भएपछि पण्डितले ल अब बाहिर लगेर खौरिनुपर्छ भन्नुभयो । मैले पुरै खौरिन अलि मिल्दैन भनेको सुन्ने बित्तिकै एकजना पण्डित त पूरै रिसाउनुभयो । एकजना पण्डित थोरै खौरिँदा हुन्छ भन्दै हुनुहुन्थ्यो भने अर्को पण्डित पुरै खौरिनुपर्छ भन्दै हुनुहुन्थ्यो । धर्म निभाएपछि पूरा निभाउनुर्छ नत्र पूर्णता नै हुँदैन भन्ने उहाँको भनाई थियो । उहाँ आफ्नो बोलीमा यति अडिग हुनुहुन्थ्यो कि एक समय पुगेपछि त म आफैं हार खान लागेको थिए । तर मनाएँ ।’

व्रतबन्ध सकेर काठमाडौँ फ्रकेका पुष्प यतिबेला भने आफू अभिनित चलचित्र ‘मनसँग मन’ को प्रचारप्रसारमा व्यस्त छन् । नायिका वर्षा सिवाकोटीसँग जोडी बाँधेका पुष्पको यो चलचित्र यहीँ माघ २७ गतेबाट देशभर रिलिज हुनेछ । व्रतबन्ध गरेदेखि जनै भने नछाडेको पुष्पले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *